नेपाल प्रिमियर लिग-२०२५ः कर्णाली याक्समाथि काठमाण्डू गोर्खाज ५ विकेटले विजयी
थानकोट ।
काठमाण्डू गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफ सम्भावनालाई बलियो बनाएको छ ।
चौथो जितसँगै काठमाण्डूले ६ खेलमा आठ अंक जोडेको छ । चौथो पराजयसँगै पाँच खेलमा दुई अंक जोडेको कर्णालीको भने प्लेअफ सम्भावना कमजोर बनेको छ ।
काठमाण्डूले आइतबार त्रिवि क्रिकेट मैदानमा कर्णालीले प्रस्तुत गरेको १ सय ५० रनको लक्ष्य १८ ओभरमा पाँच विकेट गुमाउँदै पूरा गर्यो । काठमाण्डूका लागि जेरहार्ड इरस्मसले अविजित ४३, जोहन सिम्पसनले ४१, बेन चार्ल्सवर्थले ३० र मिलिन्द कुमारले १५ रन बनाए ।
कर्णालीका लागि नन्दन यादवले तीन र पवन सर्राफले एक विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङ रोजेको कर्णालीले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १ सय ४९ रनको योगफल तयार पारेको थियो ।
कर्णालीका लागि गुल्सनकुमार झाले २२ बलमा ६ चौका र तीन छक्काको मद्दतले अविजित ४९ रनको योगदान गरे । यसैगरी पवन सर्राफले ३५, मार्क वाटले ३० र दीपक डुम्रेले १० रन बनाए ।
काठमाण्डूका लागि राशिद खानले दुई तथा मिलिन्द कुमार, सन्तोष यादव र कप्तान किरण केसीले एक–एक विकेट लिए ।













