नेपाल प्रिमियर लिग-२०२५ः आज विश्राम, मंगलबार दुई खेल
थानकोट ।
दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार कुनै पनि खेल सञ्चालन हुने छैनन्।
नेपाल क्रिकेट संघ (क्यान) ले सार्वजनिक गरेको खेल तालिकाअनुसार खेलाडीहरूको थकान व्यवस्थापन र मैदान मर्मतका लागि आजको दिनलाई ‘विश्राम दिन’ का रूपमा राखिएको छ।
लिग चरणका खेलहरू रोमाञ्चक मोडमा पुगिरहँदा आजको विश्रामपछि भोलि मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दुई महत्त्वपूर्ण खेलहरू हुनेछन्।
भोलि बिहान ११:४५ बजे हुने पहिलो खेलमा जनकपुर बोल्ट्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ भने अपराह्न ४:०० बजे हुने दोस्रो खेलमा कर्णाली याक्सले पोखरा एभेन्जर्सको सामना गर्नेछ।
जारी अंकतालिका अनुसार भोलिको खेल विशेष गरी जनकपुर बोल्ट्सका लागि ‘गर वा मर’ को स्थितिमा छ। हालसम्म ४ खेल खेलेको जनकपुरले कुनै पनि खेल जित्न सकेको छैन र अंकतालिकाको पुछारमा शून्य अंकसहित सीमित छ।
उसका प्रतिद्वन्द्वी चितवन राइनोजले भने ४ खेलमा २ जित र २ हार व्यहोर्दै ४ अंकका साथ मध्यम स्थान बनाएको छ।
त्यस्तै, दोस्रो खेलमा भिड्ने कर्णाली याक्स र पोखरा एभेन्जर्स दुवै टोली अंकतालिकामा सुधार गर्न संघर्षरत छन्।
५ खेल खेलिसकेको कर्णाली याक्सले १ जित र ४ हारसहित २ अंक मात्र जोडेको छ भने ४ खेल खेलेको पोखरा एभेन्जर्सको पनि १ जित र ३ हारसहित समान २ अंक नै छ।
अंकतालिकाको छैठौं र सातौं स्थानमा रहेका यी दुई टोलीबीचको खेल प्लेअफको दौडमा रहिरहन निकै महत्त्वपूर्ण मानिएको छ। हाल सुदूरपश्चिम रोयल्स ५ खेलमा ५ जितसहित १० अंक जोडेर शीर्ष स्थानमा कायमै छ।
मंसिर १ गतेदेखि सुरु भएको यस प्रतिष्ठित प्रतियोगितामा जनकपुर, सुदूरपश्चिम, कर्णाली, पोखरा, विराटनगर, चितवन, काठमाण्डू र लुम्बिनी गरी आठ फ्रेन्चाइज टोलीको सहभागिता रहेको छ।
दर्शकको बाक्लो उपस्थिति र खेलाडीहरूको कडा प्रतिस्पर्धाबीच चलिरहेको एनपीएलको फाइनल खेल आगामी मंसिर २७ गते हुनेछ।













