प्रतिनिधि सभातर्फ समानुपातिक निर्वाचन अधिकृतको कार्यालय स्थापना

Thankot Times

थानकोट ।

आउँदो फागुन २१ गतेलाई तय प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

सोमबार निर्वाचन आयोग, बहादुर भवन, कान्तिपथ, काठमाडौंमा उक्त कार्यालय स्थापना भएको हो । कार्यालयको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले उद्घाटन गरे ।

समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना भएसँगै आयोगको मंसिर १२ गतेको निर्णयानुसार समानुपातिकतर्फको निर्वाचन अधिकृत तोकिएका आयोगका सचिव महादेव पन्थले आजै सो जिम्मेवारी बहन गरेका छन् ।

उक्त निर्वाचन प्रणालीतर्फ सहायक निर्वाचन अधिकृतको रूपमा आयोगका सहसचिव यज्ञ प्रसाद भट्टराईलाई तोकिएको छ । समानुपातिक निर्वाचन व्यवस्थापनका लागि कूल ४१ जना कर्मचारी कार्यरत रहने छन् ।

कार्यालयको उद्घाटन गर्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले समानुपातिक निर्वाचन प्रणालीका सबै कार्य निर्वाचन अधिकृतको कार्यालयबाट हुने हुँदा सबै सरोकारवालालाई सहज हुने विश्वास व्यक्त गरे । साथै, सूत्रात्मक पद्धतिबाट राष्ट्रिय तथ्यांक कार्यालयसमेतको सहयोगमा कानून बमोजिमका जातीय, भौगोलिक, लैङ्गिक लगायतका समूह छुट्याएर प्रतिनिधि चयन गरिने भएकोले सबै पक्षको भरोसा रहने उनको विश्वास छ ।

सो कार्यक्रममा निर्वाचन आयुक्तद्वय डा. जानकी कुमारी तुलाधर र सगुन शम्शेर जबरा एवं आयोगका सचिव पन्थ लगायतको उपस्थिति रहेको थियो ।

आजै, अर्थमन्त्री रामेश्वर प्रसाद खनाल र कानूनमन्त्री अनिल कुमार सिन्हाले निर्वाचन आयोगमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूसँग निर्वाचन पूर्वतयारीको अवस्था र आगामी दिनमा निर्वाचन सम्पन्न गर्नका लागि सरकारले आयोगलाई उपलब्ध गराउनुपर्ने सहयोगका विषयमा छलफल गरेका छन् ।

छलफलमा अर्थमन्त्री खनालले निर्वाचन सम्पन्न गर्न आयोगलाई आवश्यक पर्ने बजेटको अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरे भने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय समेतको कार्यभार सम्हालेका कानूनमन्त्री सिन्हाले निर्वाचन सम्पन्न गर्नका निम्ति आवश्यक कानूनी सहायता उपलब्ध गराउने बताए ।

उनले निर्वाचन सम्पन्न गर्ने कार्यमा स्वदेशी वस्तु र उत्पादनको प्रयोग गर्न आयोगलाई अनुरोध समेत गरे । सो छलफलबाट आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन र राष्ट्रियसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न थप मद्दत पुगेको आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले बताएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *