कोटेश्वर-जडीबुटी खण्डमा अन्डरपास र फ्लाइओभर बनाउन जापानले पौने ३२ अर्ब ऋण दिने
थानकोट ।
नेपाल र जापान सरकारबीच कोटेश्वर चोक सुधार आयोजनाका लागि ऋण सम्झौता भएको छ ।
अर्थ मन्त्री रामेश्वरप्रसाद खनालको उपस्थितिमा (बुधबार) अर्थ मन्त्रालयमा आयोजित एक समारोहमा हस्ताक्षर गरिएको हो ।
ऋण सहायतासँग सम्बन्धित ‘एक्सचेन्ज अफ नोट’मा अर्थसचिव डा. घनश्याम उपाध्याय र महामहिम जापानी राजदूत मायदा तोरुले हस्ताक्षर गरे । त्यस्तै ऋण सम्झौतामा अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखाका प्रमुख सहसचिव डा. धनीराम शर्मा र जाइका नेपालका प्रमुख प्रतिनिधि मित्सुजाकी माजुकीले हस्ताक्षर गरेका छन् ।
जापानले उक्त आयोजनाका लागि ३४.५९ अर्ब जापानी येनबराबरको ऋण सहायता उपलब्ध गराएको छ । यो नेपाली रुपैयाँमा करिब ३१ अर्ब ७६ करोड हुन आउँछ । सो ऋणको ब्याजदर भने वार्षिक ०.२ प्रतिशत रहने सम्झौता गरेको अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेले जानकारी दिए । यससँगै, जाइकामार्फत प्राप्त हुने उक्त ऋणको व्याज तथा किस्ता भुक्तानी शुरु गर्ने ग्रेस अवधि १० वर्षको तोकिएको छ । नेपालले उक्त ऋणको साँवा तथा ब्याज भुक्तानी ३० वर्षसम्ममा गरिसक्नुपर्ने छ ।
यस आयोजनाअन्तर्गत कोटेश्वर तथा जडीबुटी खण्डमा अन्डरपास तथा फ्लाइओभर निर्माण गरिनेछ । निर्माणपश्चात् यसले काठमाडौं, ललितपुर, भक्तपुर तथा वि.पि.राजमार्ग हुँदै चल्ने सवारीसाधनको आवागमन सहज बनाउन तथा ट्राफिक जाम न्यूनीकरण गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । आयोजना भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको सडक विभागमार्फत कार्यान्वयन गरिने बताइएको छ ।
हस्ताक्षरपछि जाइका नेपालका प्रमुख प्रतिनिधि मित्सुजाकी माजुकी, राजदूत मायदा तोरु तथा अर्थमन्त्री खनालले द्विपक्षीय सहकार्यलाई थप प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । राजदूत तोरुले जापानको सहुलियतपूर्ण ऋण सहयोगमा कार्यान्वयन हुने कोटेश्वर चोक सुधार आयोजना कार्यान्वयनबाट उपत्यकाको यातायात व्यवस्थामा उल्लेख्य सुधार हुने विश्वास व्यक्त गर्नुका साथै नेपाल र जापानबीचको दशकौं पूरानो मित्रतापूर्ण सम्बन्धको स्मरण गरे ।
त्यस्तै, अर्थमन्त्री खनालले नेपाल–जापान सहकार्यअन्तर्गत काठमाडौं उपत्यकाको महत्त्वपूर्ण जामयुक्त स्थानको सुधारमा प्रगति ल्याउने उद्देश्यले अघि बढाइएको यो परियोजनाले राजधानीको यातायात व्यवस्थापनमा दीर्घकालीन परिवर्तन ल्याउने विश्वास व्यक्त गरे ।












