चन्द्रागिरि छैठाैं राष्ट्रपति रनिङ्ग शिल्डमा ४७ विद्यालयका २ हजार ७२ जना विद्यार्थी सहभागी हुने

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिकामा भोलि (मंसिर १९) बाट सुरु हुने छैठाैं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा ४७ विद्यालयका २ हजार ७२ जना विद्यार्थीले सहभागिता जनाउने भएका छन् । 

प्रतियोगितामा नगरक्षेत्रका १९ सामुदायिक, २५ संस्थागत विद्यालय तथा ३ वटा क्याम्पसका ११४८ जना छात्र र ९२४ जना छात्राले मार्सल आर्टस्, भलिबल, ट्य्राक एण्ड फिल्ड (एथ्लेटिक्स), कबड्डी खेल खेलका १७ वटा स्पर्धामा भाग लिने चन्द्रागिरि नगरका मेयर घनश्याम गिरीले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । मेयर गिरीका अनुसार प्रतिस्पर्धीहरुले ५४ स्वर्ण ५४ रजत र ८० कास्य पदकका लागि आफ्नो खेल काैशल देखाउने छन् ।

प्रतियोगिताको उद्घाटन चन्द्रागिरि नगरपालिका नैकापस्थित नैकाप फुटबल मैदानमा भोलि मंसिर १९ गते शुक्रबार बिहान १०ः३० बजे हुनेछ ।

प्रतियोगिता मंसिर २४ गते सम्पन्न हुने तालिका रहेको छ । 

प्रतियोगताको भलिबल खेल नैकापस्थित न्यू डायमण्ड यूथ स्पोर्टस् क्लबमा, कबड्डी खेलका स्पर्धाहरू थानकोटस्थित मंगलोदय माविमा हुनेछन् ।

यस्तै, मार्सल आर्टस् विधाका खेलहरू चन्द्रागिरि ५ दुरसञ्चारस्थित रिब्स माविमा हुनेछन् । ट्य्राक एण्ड फिल्डका खेलहरू नैकाप फुटबल मैदान र हलचोकस्थित सशस्त्र प्रहरी बलको खेल मैदानमा हुने तालिका रहेको छ ।

नगर क्षेत्रमा सञ्चालन हुने विद्यालय तहकै सबैभन्दा बृहत खेल उत्सव सफल बनाउन मेयर गिरीले सबैमा अनुरोध समेत गरे । प्रतियोगितालाई मर्यादीत, निष्पक्ष र समावेशी गराउन सहभागी संस्थागत र सामुदायिक विद्यालयका सबै  छात्राछात्राको जन्मदर्ता प्रमाणपत्र समेत मिहिन ढंगले अध्ययन गरिएको मेयर गिरीको भनाइ छ ।

विगतका संस्करणमा देखिएका त्रुटी यसपटकको प्रतियोगितामा सच्याइने मेयर गिरीको भनाइ छ ।

विजेता विद्यार्थीहरूलाई प्रमाणपत्र तथा पदक प्रदान प्रतियोगिताको विधागत विजयी विद्यालयलाई कप तथा सबै विधामा हासिल गरेको नतिजाका आधारमा सर्वोत्कृष्ठ विद्यालयलाई रनिङ्ग शिल्ड, कप र दोश्रो तथा तेस्रो सर्वोत्कृष्ठ विद्यालयलाई कप प्रदान गरिने प्रतियोगिताका लागि २५ लाख रूपैयाँ विनियोजन गरिएको छ ।

छैटाैं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका बारेमा जानकारी दिन डाकिएको पत्रकार सम्मेलनमा बोल्दै वडाध्यक्ष तथा नगरप्रवक्ता कृष्णप्रसाद खड्गीले विद्यालय स्तरबाट नै विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन गरी भविष्य निर्माणका लागि सो खेलकुद प्रतियोगिता पहिलो आधार हुने धारणा राख्दै विद्यालयले कुन विद्यार्थीको चाहना कुन खेलमा छ भनेर चासो दिनुपर्नेमा जोड दिए ।

प्रतियोगिता सार्थकता तब हुन्छ जब चन्द्रागिरि नगरका विद्यालयका खेलाडीहरूले जिल्ला, प्रदेश, राष्ट्र तथा अन्तराष्ट्रिय जगतमा देशको शीर उचो हुन्छ भन्दै प्रवक्ता खड्गीले विद्यालयस्तरीय प्रतियोगिताका गतिविधि समावेश गर्न स्थानीय सञ्चारमाध्यमहरूले उचित स्थान दिनुपर्ने बताए ।

गतवर्षझैं यस वर्षपनि प्रतियोगितामा सहभागी विद्यार्थीका लागि बीमा गरिएको बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *