‘अटोमेटिक’ भए प्राधिकरणका सातवटा विद्युत् ग्रिड प्रणाली, मातातिर्थ सबस्टेशन पनि ‘अटोमेटिक’ बनाइँदै

Thankot Times

थानकोट ।

नेपाल विद्युत् प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित बनेका छन् । विद्युत् प्रणालीलाई आधुनिक, स्वचालित र स्मार्टमा रूपान्तरण गर्ने दीर्घकालीन रणनीतिसहित १३ वटा ग्रिड सबस्टेसनलाई स्वचालित बनाउन सुरु गरिएको थियो ।

त्यसमध्ये पाँचखाल, बनेपा, पाटन, लैनचौर, बालाजु, चपली र भक्तपुर गरी सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा आबद्ध गरी सञ्चालनमा ल्याइएको हो ।

अब उक्त सबस्टेसन मीनभवनस्थित प्राधिकरणको भवनमा बनाइएको नियन्त्रणकक्षबाट सञ्चालन गरिएको छ । स्वचालित रूपमा सबस्टेसन सञ्चालन तथा नियन्त्रणका लागि नयाँ नियन्त्रण कक्षसमेत निर्माण गरी सञ्चालनमा ल्याइएको प्राधिकरणले जनाएको छ ।

स्युचाटार, टेकु, मातातीर्थ, चाबहिल, के–३ र लामासाँघु गरी बाँकी ६ वटा सबस्टेसन दुई महिनाभित्र स्वचालित प्रणालीमा आबद्ध गरिनेछ । स्वचालित सबस्टेसन स्युचाटारस्थित भार प्रेषण केन्द्रसँग सुपरभाइजरी नियन्त्रण तथा डाटा प्राप्ति (सुपरभाइजरी कन्ट्रोल एन्ड डाटा एक्विजिसन–स्काडा) मार्फत आबद्ध हुने हुँदा यसबाट एकीकृत प्रणाली सञ्चालन थप मजबुत र स्थिर हुनेछ ।

प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले सबस्टेसन पूर्ण रूपमा स्वचालित भएपछि बारम्बार हुने विद्युत अवरोध न्यून हुने, वास्तविक समयको तथ्यांक प्रयोग हुने भएकाले भार (लोड) व्यवस्थापन सहज हुने, सञ्चालन–सम्भार खर्च कम हुने, प्राविधिक क्षति कम हुने र स्मार्ट ग्रिड विकास हुने बताए ।

उनले स्वचालित बनेपछि क्रमिक रूपमा मानवरहित अवस्थामा अर्थात् भौतिक रूपमा सञ्चालनका लागि कर्मचारी ड्युटीमा खट्नु नपर्ने बताए ।

एसियाली विकास बैंक (एडीबी)को विद्युत् प्रसारण तथा वितरण दक्षता सुदृढीकरण परियोजनाअन्तर्गत प्राप्त सहुलितपूर्ण ऋणमा सबस्टेसनलाई स्वचालित बनाइएको छ । समग्र आयोजनाको लागत करिब ६१ करोड रुपैयाँ रहेको छ ।

त्यस्तै, देशभरका बाँकी ६४ वटा ग्रिड सबस्टेसन स्वचालित बनाउन एडीबीको सहुलितपूर्ण ऋणमा काम भइरहेको छ । उक्त काम आगामी डेढ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । त्यसपछि सम्पूर्ण ग्रिड सबस्टेसन स्वचालित हुनेछन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *