हेटौंडामा राष्ट्रिय स्क्राबल प्रतियोगिता सुरु, ब्राइट फ्यूचरका आयाम र असीमले प्रतिस्पर्धा गर्दै

Thankot Times

थानकोट ।

हेटौँडामा राष्ट्रियस्तरको ११औँ स्क्राबल प्रतियोगिता आज शुक्रबारबाट सुरु भएको छ ।

दुई दिने प्रतियोगिता हेटौँडा उपमहानगरपालिका-२ वासुदेव मार्गस्थित बाल जागृति इंग्लिस बोर्डिङ स्कुलमा सञ्चालन भएको हो । सो विद्यालयको आयोजनामा तथा स्क्राबल क्लब अफ नेपालको संयोजनमा प्रतियोगिता सञ्चालन भएको बताइएको छ ।

प्रतियोगितामा मकवानपुर, चितवन, काठमाडौं, भक्तपुर, गोरखा, स्याङ्जा, रुपन्देही, गुल्मी, सुर्खेत, सुनसरी, बारा, अर्घाखाँची, कैलालीलगायत देशका २५ भन्दा बढी जिल्लाबाट एक सयभन्दा बढी विद्यार्थी सहभागी भएका छन् ।

स्क्राबल क्लब अफ नेपालका अध्यक्ष केशवप्रसाद पराजुलीका अनुसार ७७ मध्ये ४० भन्दा बढी जिल्लामा स्क्राबल परिचित भइसकेको छ र ३० जिल्लामा खेलका समितिहरू सक्रिय छन् । अभिभावकहरूले पनि खेलको महत्त्व बुझ्दै विद्यार्थीलाई सहभागी हुन प्रोत्साहित गर्नुपर्ने उनले बताए ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई क्रमशः १५ हजार, १३ हजार र ११ हजार रुपैयाँ प्रदान गरिनेछ । यस्तै चौथोदेखि सातौँसम्मका लागि नाै हजारदेखि तीन हजार रुपैयाँसम्म पुरस्कार राखिएको छ। आठौँ, नवौँ र दसाैँलाई जनही तीन हजार रुपैयाँ पुरस्कार दिइनेछ भने एघारौँदेखि २५औँ स्थानसम्म छानिएका सहभागीलाई जनही दुई हजार रुपैयाँ प्रदान गरिनेछ ।

प्रतियोगिताबाट उत्कृष्ट २५ स्थानमा परेकाहरूलाई अन्तर्राष्ट्रिय स्तरको खेलमा सहभागी गराउने तयारी रहेको पनि आयोजकले जनाएको छ । खेल सञ्चालनका लागि करिब १३ लाख रुपैयाँ लागत अनुमान गरिएको आयोजक विद्यालयका प्रिन्सिपल सुवेदीले बताए ।

यसैबीच राष्ट्रियस्तरको ११औँ स्क्राबल प्रतियोगितामा चन्द्रागिरि नगरपालिका नैकापस्थित ब्राइट फ्यूचर माविका दुई विद्यार्थीले पनि सहभागिता जनाउने भएका छन् । प्रतियोगितामा ब्राइटका आयाम सापकोटा र असीम तामाङले प्रतिस्पर्धा गर्ने विद्यालयबाट जारी विज्ञप्तिमा भनिकएको छ । यी दुवै विद्यार्थीले अन्तराष्ट्रिय प्रतियोगिताको समेत अनुभव लिइसकेका छन्। गत कार्तिक २२ गते जिल्ला स्क्राबल संघ काठमाडाैंले आयोजना गरेको छनोट प्रतियोगिताबाट छानिएपछि उनीहरुले हेटाैैंडामा पनि खेल काैशल देखाउने अवसर पाएका हुन् ।

शुक्रबार चन्द्रागिरि नगरपालिका वडा नम्बर १५ का वडाअध्यक्ष घनश्याम लुइँटेल र ब्राइट फ्युचर स्कुलका अध्यक्ष मोहनकुमार कार्कीले प्रतियोगितामा सहभागी हुने विद्यार्थीलाई बिदाई गरेका छन् ।

अंग्रेजी भाषाको विकास, सञ्चारको सीप, सहकार्य, नयाँ शब्द तथा शब्दावली सिकाउन खेलाइने स्क्राबल खेल संसारभर लोकप्रिय छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *