साफ महिला क्लब च्याम्पियनसिप काठमाडाैंमा सुरु, उद्घाटन खेलमा कराँची र ट्रान्सपोर्टले अंक बाँडे

Thankot Times

थानकोट ।

पाकिस्तानको कराँची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले साफ महिला क्लब च्याम्यिनसिपमा अंक बाँडेका छन् ।

शुक्रबार काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न उद्घाटन खेलमा कराची र ट्रान्सपोर्टले गोलरहित बराबरी खेलेका हुन् ।

खेलमा भुटानी क्लब ट्रान्सपोर्टले थुप्रै अवसर सृजना गरे पनि गोलमा परिणत गर्न हुन सकेन ।

३७औँ मिनेटमा ट्रान्सपोर्टकी डोर्जी इडोन गोल गर्नबाट चुकिन् । इडोनले प्रहार गरेको फ्रिकिक पोेस्टको क्रसबारमा लागेर मैदान फर्किएको थियो । ५४औँ मिनेटमा ट्रान्सपोर्टकी टासी वाङ्वोले सुनौलो अवसर गुमाइन् । टासीले पेनाल्टी बक्स नजिकैबाट प्रहार गरेकोे फ्रिकिकले दिशा लिन नसक्दा पोस्टबाट बाहिरिएको थियो ।

कराचीकी गोलकिपर जियाना जिब्राजे ट्रान्सपोर्टकी कप्तान सुनिता राईमाथि फल गरेपछि क्लबले फ्रिकिक अवसर पाएको थियो । ७२औँ मिनेटमा कराचीकी गोलकिपर जियाना जिब्राजले टोलीलाई अग्रता व्यहोर्नबाट जोगाइन् । जिब्राजले पेनाल्टी बक्सभित्र भुटानकी कप्तान सुनिता राईको प्रहार उत्कृष्ट बचाउ गरेकी थिइन् ।

नतिजासँगै दुवै टोलीले प्रतियोगितामा पहिलो अंक जोडेका छन् । प्रतियोगितामा पाकिस्तानको कराची सिटी एफसी, भुटानको ट्रान्सफोर्ट युनाइटेड लेडिज एफसी, बंगलादेशको नस्रिन स्पोर्ट्स एकेडेमी, भारतको इस्ट बंगाल एफसी र नेपालको एपीएफ फुटबल क्लबको सहभागिता छ । प्रतियोगिता आगामी डिसेम्बर २० सम्म हुनेछ । ‘सिंगल राउन्ड रोबिन’को आधारमा सञ्चालन हुने प्रतियोगितामा शीर्ष दुई टिमले फाइनलमा स्थान बनाउनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *