नेपाल प्रिमियर लिग-२०२५ः लिग चरणको अन्तिम खेलमा आज जनकपुर र कर्णाली प्रतिस्पर्धा गर्दै

Thankot Times

थानकोट ।

नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच खेल हुने तालिका रहेको छ ।

यी दुई टिमबीच हुने आजको खेलले तालिकाको पुछारमा रहने टिमको टुंगो लगाउनेछ ।

यो दोस्रो संस्करणमा लिग चरणको अन्तिम खेलसमेत हो ।

तालिकाको सातौँ स्थानमा रहेको कर्णालीले ६ खेलबाट दुई अंक जोडेको छ । कर्णालीले लिगको आफ्नो दोस्रो खेलमा लुम्बिनी लायन्सविरुद्ध नौ विकेटको जित निकालेको थियो ।

तर, पहिलो खेलमा चितवनसँग चार विकेटको, तेस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग ४५ रनको, चौथो खेलमा विराटनगर किंग्सविरुद्ध तीन विकेटको, पाँचौँ खेलमा काठमाण्डू गोर्खाजसँग पाँच विकेटको र छैटौँ खेलमा पोखरा एभेन्जर्सविरुद्ध ३४ रनको हार व्यहोरेको थियो । कर्णालीले पहिलो संस्करणमा इलिमिनेटर र दोस्रो क्वालिफायर खेलेको थियो ।

यता, साविक विजेता जनकपुर बोल्ट्स तालिकाको पुछारमा छ । गत सिजन सुदूरपश्चिम रोयल्सलाई उपाधि भिड्न्तमा हराउँदै च्याम्पियन बनेको जनकपुरले यो सिजन ६ खेल खेल्दा एकमा मात्रै जित निकालेको छ ।

प्रतियोगिताको दोस्रो संस्करणमा जनकपुरले लगातार चार हारपछि पाँचौँ खेलमा जित निकालेको थियो । पहिलो खेलमा जनकपुरलाई काठमाण्डू गोर्खाजले पाँच विकेटले निराश बनाएको थियो ।

दोस्रो खेलमा विराटनगर किंग्सविरुद्ध नौ रनको, तेस्रो खेलमा पोखरा एभेन्जर्सविरुद्ध २५ रनको, चौथो खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध ६ विकेटको हार व्यहोरेको थियो । पाँचौँ खेलमा भने जनकपुरले चितवन राइनोजविरुद्ध ६ विकेटको जित निकालेको थियो । छैटौँ खेलमा जनकपुरविरुद्ध लुम्बिनीले चार विकेटको जित निकालेको थियो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा हुने यो खेल दिउँसो ३ः३० बजेदेखि सुरु हुनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *