रसुवागढी जलविद्युत आयोजना मर्मतपछि आंशिक सञ्चालन

Thankot Times

थानकोट ।

नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा रसुवामा निर्माण भएको रसुवागढी जलविद्युत् आयोजना आंशिक सञ्चालनमा आएको छ ।

गत असार २४ गते बिहान चीनको तिब्बतबाट बग्ने ल्येन्दे खोलामा हिमताल विष्फोटपछि आएको बाढीले आयोजनाको बाँधलगायत संरचनामा ठूलो क्षति पुर्‍याएको थियो ।

मर्मतपछि अस्थायी रूपमा नदीबाट पानी पथान्तरण (डाइभर्सन)गरी विद्युतगृहमा रहेका तीनवटा युनिटमध्ये एउटा युनिट शनिबारबाट सञ्चालनमा ल्याइएको हो । १११ मेगावाट जडित क्षमताको आयोजनाको एउटा युनिटबाट ३७ मेगावाट विद्युत् उत्पादन हुन्छ ।

बाँकी दुईवटा युनिट एक महिनाभित्र संचालनमा ल्याउने र बाँकी मर्मत कार्य आगामी वर्षायामअगाडि नै सम्पन्न गर्ने गरी पुनर्निर्माणको काम भइरहेको प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले बताए ।
बाढीले आयोजनाको हेडवक्र्स क्षेत्रमा पानीसँग बगेर आउने काठ, झार, बोटबिरुवाजस्ता वस्तु रोक्ने मेसिन, गेटलगायत उपकरण बगाएको थियो ।

आयोजनाबाट १६ पुस २०८१ बाट व्यवसायिक रुपमा विद्युत् उत्पादन सुरु भएको थियो । तर, असारमा आएको बाढीले क्षति पुर्‍याएपछि आयोजनाबाट विद्युत उत्पादन बन्द थियो ।

आयोजना पूर्णरुपमा सञ्चालनमा आएपछि वार्षिकरुपमा ६१ करोड ३८ लाख ७५ हजार युनिट विद्युत् उत्पादन हुनेछ । उक्त विद्युत् बिक्रीबाट कम्पनीलाई वार्षिक तीन अर्ब २५ करोड रुपैयाँ आम्दानी हुनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *