धादिङको चालिसेमा शनिबार साँझ भएको सवारी दुर्घटनामा मृत्यु भएका २ मध्ये १ जनाको सनाखत
थानकोट ।
धादिङको धुनीवेशी नगरपालिका–६, चालिसेमा भएको सवारी दुर्घटनामा घाइतेमध्ये दुईजनाको मृत्यु भएको छ ।
मोटरसाइकल चालक ५९ वर्षीय सेख अली एस र अर्का एकजना पहिचान नखुलेका पुरूषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक श्यामकुमार बस्नेतले जानकारी दिए ।
सेख अलीले लु ९५ प ३०७ नम्बरको मोटरसाइकल चलाएका थिए । उनीहरूको उपचारका क्रममा काठमाडौंको टिचिङ अस्पतालमा मृत्यु भएको बस्नेतले जानकारी दिए ।
शनिबार दिउँसो काठमाडौंबाट गजुरीतर्फ जाँदै गरेको बा.प्र.००१ क ००११ नम्बरको स्कुल बस, एन.एल. ०१ बी.ए. ४६५४ नम्बरको डिब्बा गाडी, ना ४ ख ७१५ नम्बरको ट्रक, लु ९५ प ३०७ नम्बरको मोटरसाइकल, जी.जे. ०३ ए.के. ३२३१ नम्बरको बस र काठमाडौंतर्फ जाँदै गरेको ग १ ख ८५५१ नम्बरको बस, बा १ प ९१७ नम्बरको पर्यटक बस दुर्घटनामा परेको थियो ।
दुर्घटनामा परेका ६८ घाइतेमध्ये केहीको स्थानीय अस्पताल र काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक प्रकाश दाहालले जानकारी दिए । केही डिस्चार्ज भइसकेका छन् ।
तस्बिरः सामाजिक सञ्जालबाट












