मधेश प्रदेशका मुख्यमन्त्री यादवसहित र तीन जना मन्त्रीले लिए शपथ
थानकोट ।
मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादव र तीन जना मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
मुख्यमन्त्री यादवले प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णसमक्ष आइतबार (मंसिर २१ गते) शपथ ग्रहण गरेका हुन् ।
मुख्यमन्त्री यादवको शपथ सकिएलगत्तै तीन जना मन्त्रीले पनि आइतबार नै शपथ ग्रहण गरेका छन् ।

नवगठीत मधेश सरकारमा नेपाली कांग्रेसका जंगीलाल राय यादव र नेकपा एकीकृत समाजवादीका कनिश पटेलले विनाविभागीय मन्त्रीका रूपमा र जनमत पार्टी संसदीय दलका नेता महेश प्रसाद यादवले अर्थमन्त्रीको शपथ लिएका हुन् ।
विश्वासकाे मत पाएपछि बाँकी मन्त्रालयको टुङ्गो लगाउने सरकारको तयारी छ ।
यादव गएको शुक्रबार मधेश प्रदेशको छैठाैं मुख्यमन्त्री नियुक्त भएका थिए ।
यसैबीच नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले यही मङ्सिर २४ गते अर्थात् आउँदो बुधबार विश्वासको मत लिने तयारी गरेका छन् ।
आज आइतबार बसेको सत्तापक्षीय सात दलीय गठबन्धनकाे बैठकले विश्वासको मत लिने निर्णय गरेको जसपाका प्रमुख सचेतक रामअशीष यादवले जानकारी दिए ।
तस्बिरः रासस












