नागढुंगा-मुग्लिन सडक मंसिर २४ गतेदेखि पाैष १ गतेसम्म दैनिक ५ घण्टा बन्द हुने

Thankot Times

थानकोट ।

संघीय राजधानी काठमाडाैं भित्रने प्रमुख सडक मार्ग नागढुंगा-मुग्लिन सडक मंसिर २४ गते बुधबादेखि दैनिक ५ घण्टा बन्द हुने भएको छ ।

निर्माण कम्पनीले ट्राफिक धेरै भएका कारण काम गर्न नसकिएको गुनासो गरेपछि बाटो बन्द गरेर निर्माण गर्न लागिएको हो।

नागढुंगा-नौबिसे-मलेखु सडक खण्ड आंशिक बन्द रहने बारे आयोजनाले सूचना जारी गर्दै सो जनाएको हो । 

मंसिर २४ गतेदेखि पुस १ गतेसम्मका लागि बिहान साढे १० बजेदेखि बेलुका साढे ३ बजेसम्म सवारीसाधन आवगमन नै बन्द गर्न लागिएको हो।

नागढुंगादेखि पिपलामोडसम्म र पोखरेभिर क्षेत्रमा काम गर्न बाटो बन्द हुनेछ।

नागढुंगा पिपलामोड खण्डको कालोपत्र गर्ने कार्य उच्च प्राथमिकतामा राखिएको आयोजनाले जनाएको छ।

उक्त सडक खण्ड अन्यत्र भन्दा साँघुरो भएको र कालोपत्रे कार्य गर्नका लागि एकै पटकमा धेरै भारी उपकरण तथा ढुवानीका साधन परिचालन गर्नुपर्ने भएको कारण सवारीसाधन आवगमन बन्द गर्ने निर्णय भएको हो।

यस्तै, धादिङ जिल्लाको गल्छी-गजुरी खण्डको साँघुरो र जोखिमपूर्ण रहेको पोखरेभिर क्षेत्रमा पनि सडक चौडा गर्नुपर्ने भएकोले नागढुंगा देखि पिपलामोडसम्म र पोखरेभिर क्षेत्रमा बाटो बन्द हुने भएका आयोजनाले जनाएको छ।

यसबारेमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङ र निर्माण व्यवसायीबीच तीन सिफ्टमा काम गर्ने कुरामा छलफल भएको थियो। तर ,निर्माण कम्पनीले अहिले भइरहेको दुई सिफ्टमा पनि राम्रोसँग काम गर्न पाइएमा समयमा काम सम्पन्न हुने बताएका थिए। त्यसपछि कुलमानले सवारीसाधन आवगमन केही समय बन्द गर्ने व्यवस्था मिलाइने बताएका थिए। त्यही अनुसार अहिले बाटो बन्द गर्न लागिएको हो।

उक्त समयमा भारी सवारीसाधनहरु नागढुंगा-पिपलामोड खण्डको लागी काठमाडौंबाट नौबिसेतर्फ जाने सवारी साधनहरु नागढुंगा चेकपोस्ट, मुग्लिङबाट काठमाडौं तर्फ जाने सवारी साधनहरु खानीखोला र जुंगेखोला (थाक्रे) तथा गल्छी-गजुरी खण्डको लागि नौबिसेबाट मुग्लिङतर्फ जाने सवारी साधनहरु गल्छी, बैरेनी र मासटार र मुग्लिङबाट नौबिसे तर्फ जाने सवारी साधनहरु मलेखुमा रोकिनेछन्।

साथै, अत्यावश्यक प्रकृतिका एम्बुलेन्स, सुरक्षा निकायका सवारी साधन, दमकल, शव वाहन जस्ता सवारीसाधनहरुको आवागमन ट्राफिक प्रहरीबाट यही बाटोमा संचालन हुने गरि सहजीकरण हुने बताइएको छ।

उक्त समय अवधिभित्र वैकल्पिक सडकमार्गहरुको प्रयोग गर्न यात्रु र चालकलाई आयोजना कार्यालयले अनुरोध गरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *