काठमाडाैं क्षेत्र नंं १० मा कांग्रेसबाट योगेन्द्र कुँवरसहित ६ जनाको दाबेदारी, मंगलबार नाम टुंगो लाग्ने

Thankot Times

थानकोट ।

आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसले काठमाडाैं क्षेत्र नं १० मा नयाँ उम्मेदवार खडा गर्ने भएको छ । 

यसअघि लगातार चारपटक माननीयका लागि टिकट पाएका राजेन्द्रकुमार केसी फागुन २१ को रेसबाट ‘ब्याक’ भएपछि कांग्रेसबाट नयाँ अनुहारले संघीय सांसद्का लागि टिकट पाउने पक्का भएको नेपाली कांग्रेसका एक नेताले थानकोट टाइम्सलाई जानकारी दिए ।

यद्यपी भोलि मंगलबार बस्ने सो पार्टीको क्षेत्रीय बैठकले आसन्न निर्वाचनका लागि उम्मेदवार टुंगो लगाउने बताइएको छ ।

काठमाडाैं क्षेत्र नं. १० मा चन्द्रागिरिका २ देखि ११ सम्मका १० वडाका साथै कीर्तिपुर र दक्षिणकाली नगरका सबै भू-भाग पर्दछन् जसअनुसार यस क्षेत्रमा नेपाली कांग्रेसबाट फागुन २१ को निर्वाचनका लागि प्रत्यक्षतर्फ हालसम्म ६ जनाले आकांक्षा देखाएको स्रोतले जनायो ।

जसअनुसार ट्रेड यूनियन कांग्रेसका केन्द्रीय अध्यक्ष थानकोट चेकपोष्टका योगेन्द्र कुमार कुँवरको दाबेदारी शीर्ष स्थानमा रहेको बताइएको छ ।

नेपाली कांग्रेस निकटवर्तीका अनुसार कुँवरको उम्मेदवारी सर्वसम्मत हुने सम्भावना अधिक छ ।

यस्तै, हिमाल कार्की, राजेन्द्र केसी, दीपेन्द्र आचार्य, दीपेश विष्ट, लक्ष्मी रावलको नाम पनि चर्चामा रहेको छ ।

जमुना नकर्मीले समानुपातिकतर्फ आकांक्षा राखेको बुझिएको छ । उनी कीर्तिपुर नगरका तत्कालीन मेयर दिवंगत राजकुमार नकर्मीकी पत्नी हुन् ।

नेपाली कांग्रेसको विधानको धारा ३०, धारा ३३ (२) तथा धारा ६९ बमोजिमको योग्यता पुगेको व्यक्तिमध्येबाट प्रत्यक्षतर्फका लागि बढीमा एक महिलासहित तीन जना र समानुपातिकतर्फका लागि समावेशी सिद्धान्तलाई ध्यानमा राखेर कम्तिमा एक महिलासहित बढीमा दुई जनाको नाम निर्णय गरेर २३ मंसिरभित्र जिल्ला कार्यसमितिमा (एक भन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लाको हकमा) पठाउने भनिए अनुसार अहिले विभिन्न निर्वाचन क्षेत्रमा उम्मेदवारहरूको चयनको क्रमले तिव्रता पाएको छ ।

फाइल तस्बिर


Leave a Reply

Your email address will not be published. Required fields are marked *