विश्व बक्सिङमा नेपालको सुखद प्रदर्शन, लालप्रसाद क्वार्टरफाइनलमा
थानकोट ।
नेपालका लालप्रसाद उप्रेतीले संयुक्त अरब इमिरेट्स (युएई) मा जारी आइबिए विश्व बक्सिङ च्याम्पियनसिपमा क्वार्टरफाइनलमा स्थान बनाएका छन्।
युएईमा भएको च्याम्पियनसिपमा पुरुष इलाइट ४६ देखि ४८ केजी तौलसमूहको अन्तिम १६ मा लालप्रसादले माल्दोभाका बक्सर पोरोमबाक मिहाइलाई हराउँदै क्वार्टरफाइनलमा स्थान बनाएका छन्। यसअघि पनि लालप्रसादले राउन्ड अफ ३२ मा इथियोपियाका अलेमु अबेललाई हराएका थिए। अब क्वार्टरफाइनलमा लालप्रसादले जुसुपोभ तेमिर्टासलाई चुनौती प्रस्तुत गर्ने नेपाली टोलीका प्रशिक्षक दीपक महर्जनले जानकारी दिए।
आज राति नेपालका बक्सर चन्द्र थापाले अन्तिम १६ मा विश्व नम्बर ६ बक्सर अर्मेनियाका डेभित यगोरियन्सँग खेल्नेछन्। यसअघि चन्द्रले इन्डोनेसियाका मासिहोर योसुए होलीलाई ५-० ले हराएका थिए। नेपालका पाँच बक्सरले यस च्याम्पियनसिपमा प्रतिस्पर्धा गरिरहेका छन्।
यो च्याम्पियनसिप अहिलेसम्मको सर्वाधिक पुरस्कार राशिको प्रतिस्पर्धा हो। शीर्ष तीन स्थान प्राप्त गर्ने बक्सरले क्रमशः तीन लाख, एक लाख ५० हजार र ७५ हजार अमेरिकी डलर नगद पुरस्कार पाउनेछन्।













