नैनसिंह महर कैलाली क्षेत्र नं. ४ बाट उमेदवार सिफारिस
थानकोट ।
नेपाली कांग्रेसले कैलाली क्षेत्र नम्बर–४ बाट नैनसिंह महरलाई उमेदवार सिफारिस गरेको छ ।
कांग्रेसले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीका केन्द्रीय सदस्य तथा युवा नेता महरलाई उमेदवारमा सिफारिस गरेको हो ।
नाम दर्ताका लागि केन्द्रीय परिपत्रअनुसार आइतबार र सोमबार दुई दिन समय तोकिएकामा सात जनाले उमेदवार हुने भन्दै नाम दर्ता गराएका थिए ।
तर, क्षेत्रीय कार्यसमितिको बैठकले नेता महरको नाम सर्वसम्मत वा प्राथमिकताका साथ सिफारिस गरी जिल्ला तथा प्रदेश समितिमार्फत केन्द्रमा पठाउने निर्णय गरेको छ ।
विद्यार्थी राजनीतिबाट उदाएका महर नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ)का पूर्वअध्यक्षसमेत हुन् ।
उनी कांग्रेसभित्र केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख हुन् ।
कांग्रेसको १५औं महाधिवेशनका सशक्त महामन्त्री उमेदवार नेता महर सोही ठाउँबाट अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा समेत सर्वसम्मत सिफारिस भएका थिए ।
यस क्षेत्रमा नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री लेखराज भट्टसँग महरको प्रतिस्पर्धा हुने बहस चुलिएको छ ।













