चन्द्रागिरि भञ्ज्याङमा बनेको चित्लाङ भ्युटावर थाहा नगरपालिकालाई हस्तान्तरण

Thankot Times

थानकोट ।

बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयको लगानीमा थाहा नगरपालिका वडा नम्बर–९ चित्लाङमा निर्माण गरिएको भ्युटावर औपचारिक रूपमा नगरपालिकालाई हस्तान्तरण गरिएको छ।

 बुधबार आयोजित कार्यक्रममा पर्यटन विकास आयोजना हेटौंडाका प्रमुख रोशन श्रीवास्तवले भ्युटावरको संरचना नगरप्रमुख विष्णु विष्टलाई हस्तान्तरण गरेका हुन्। कार्यक्रममा प्रदेश सरकारका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठ, नगर उपप्रमुख, वडाध्यक्षहरू तथा स्थानीय जनप्रतिनिधिहरूको उपस्थिति थियो। 

हाललाई संरचना अनौपचारिक रूपमा हस्तान्तरण गरिए पनि छिट्टै नै उद्घाटन गरी संचालनमा ल्याउन पर्यटन विकास आयोजना हेटौंडा र थाहा नगरपालिकाबीच आवश्यक सम्झौता भइसकेको जनाइएको छ। सम्झौता अनुसार भ्युटावर संचालनबाट प्राप्त राजस्वको निश्चित हिस्सा प्रदेश सरकारलाई जानेछ।

कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले भ्युटावर संचालनमा आएपछि थाहा नगरको पर्यटकीय आकर्षण थप सुदृढ हुने विश्वास व्यक्त गर्दै स्थानीय पर्यटन प्रवद्र्धनमा यसको महत्वपूर्ण भूमिका रहने बताए ।

उनले प्रदेश सरकारले थाहा नगरपालिका क्षेत्रका अन्य पर्यटन सम्भावनाहरूमा समेत काम अघि बढाउने स्पष्ट गरे ।

प्रदेश सरकारले ‘चित्लाङ हिलस्टेसन प्याकेज कार्यक्रम’ (२०७६–२०७८) अन्तर्गत भ्युटावर निर्माणको काम अघि बढाएको थियो । उक्त परियोजनामा भ्युटावरसँगै क्रियसन हल, शौचालय, रिटेनिङ वाल, गेट, गार्ड हाउस तथा अन्य सहायक संरचनाहरू निर्माण गरिएको छ । परियोजनाको लागत दुई चरणमा मूल्य समायोजनसहित कुल पाँच करोड २७ लाख ४७ हजार ८ सय ५२ रुपैयाँ पुगेको छ ।

पोष्टराज अधिकारी, नयाँ पत्रिका


Leave a Reply

Your email address will not be published. Required fields are marked *