साफ क्लब महिला च्याम्पियनसिप : इस्ट बंगालको लगातर दोस्रो जित
थानकोट ।
भारतीय क्लब इस्ट बंगाल एफसीले साफ क्लब महिला च्याम्पियनसिपमा लगातार दोस्रो जित हासिल गरेको छ ।
इस्ट बंगालले बिहीबार काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पाकिस्तानी क्लब कराची सिटी एफसीविरुद्ध २–० को सहज जित निकालेको हो । यसअघि इस्ट बंगालले भुटानी क्लब ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीविरुद्ध ४–० को जित निकालेको थियो ।
इस्ट बंगालको जितमा सुल्जना राउल र रेस्टी नान्जीरिले समान एक गोल गरे । इस्ट बंगाललाई पाँचौँ मिनेटमा राउलले अग्रता दिलाइन् । ४७औँ मिनेटमा नान्जीरिले अग्रतालाई दोब्बर बनाएकी थिइन् ।
यो जितसँगै इस्ट बंगाल चार अंकका साथ तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । इस्ट बंगालले दुई खेलमा शतप्रतिशत जित हासिल गर्दै यो नतिजा आत्मसात् गरेको हो ।
यता, कराचीले भने पहिलो हार व्यहोरेसँगै प्रतियोगिताको उपाधि होडबाट बाहिरिएको छ । कराचीले हालसम्म तीन खेल खेल्दा दुई बराबरी र एक हारसहित तीन अंक जोडेको छ ।
कराचीले यसअघि सम्पन्न पहिलो र दोस्रो खेलमा भुटानी क्लब ट्रान्सपोर्ट युनाइटेड लेडिज एफपसी र बंगलादेशी क्लब नस्रिन स्पोर्ट्स एकेडेमीसँग गोलरहित बराबरी गरेको थियो ।
अब कराचीले अन्तिम खेलमा घरेलु टिम सशस्त्र प्रहरी बलको एपीएफ फुटबल क्लबसँग खेल्ने तालिका छ ।













