एन्फाले खुलायो राष्ट्रिय पुरुष टिमको मुख्य प्रशिक्षकका लागि आवेदन
थानकोट ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय पुरुष टिमको मुख्य प्रशिक्षकका लागि आवेदन खुलाएको छ ।
म्याट रसले गत कात्तिकमा राजीनामा दिएपछि पुरुष टोली प्रशिक्षकविहीन छ । रस नहुँदा नेपालले एन्फाकै टेक्निकल डाइरेक्टर हरि खड्काको प्रशिक्षणमा मलेसियासँग एएफसी एसियन कप छनोटको खेल खेलेको थियो ।
तर, फिफा र एएफसीका प्रतियोगिता खेल्न अनिवार्य प्रो–लाइसेन्स प्रशिक्षक नै चाहिने भएपछि एन्फाले नियुक्तिको प्रक्रिया अगाडि बढाएको हो । एन्फाले बिहीबार विज्ञप्ति निकाल्दै इच्छुक तथा योग्य उम्मेदवारलाई ३० दिनभित्र आवेदन दिन आग्रह गरेको छ । प्रशिक्षक करारमा नियुक्त हुने प्रशिक्षकले प्रो–लाइसेन्स हासिल गरेको हुनुपर्नेछ ।
यस्तै, कुनै पनि राष्ट्रको पुरुष वा महिला राष्ट्रिय टिमका प्रशिक्षण सम्हालेको र कम्तीमा ३ वर्षको अनुभव हुनुपर्ने एन्फाले जनाएको छ ।













