आसन्न चुनावमा उम्मेदवार नबन्ने पूर्वमन्त्री एवं कांग्रेस धादिङका सभापति रामनाथ अधिकारीको घोषणा

Thankot Times

थानकोट ।

नेपाली काँग्रेस धादिङका सभापति रामनाथ अधिकारीले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् ।

धादिङ क्षेत्र नम्बर-२ क्षेत्रीय कार्यसमितिको मंगलबार बसेको बैठकमा उनले २१ फागुनका लागि हुने निर्वाचनका लागि आफ्नो दाबी नरहने घोषणा गरेका हुन् ।

अघिल्लो सरकारमा कृषि तथा पशुपन्छी विकासमन्त्री रहेका नेता अधिकारीले आफूले उम्मेदवारीमा दाबी नगरेको प्रतिक्रिया दिएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा राखिएको एक भिडियोमा अधिकारीले भनेका छन्, ‘अनेक सन्दर्भ उठेका छन् । सन्दर्भलाई ध्यानमा राखेर यो उम्मेदवारीबाट बाहिरै रहने प्रण मैले गरेको छु ।’

उनले उम्मेदवारीका लागि आफ्नो दाबी नरहे पनि पार्टीलाई निर्वाचनमा जिताउने जिम्मेवारी भने रहेको बताएका छन् ।

पूर्वमन्त्री अधिकारीले गत निर्वाचनमा आफ्ना लागि मत माग्न गाउँ-गाउँ पुगेको स्मरण गर्दै आशन्न निर्वाचनमा पनि मत माग्न गाउँ–गाउँ पुग्ने इच्छा रहेको बताए ।

जिल्ला सभापति अधिकारीले अहिले आन्तरिक विवाद गर्ने समय नभएको जिकिर गर्दै बैठकमा सकेसम्म एकमात्र उम्मेदवारको नाम सिफारिस गर्नुपर्नेमा पनि जोड दिएका छन् ।

२१ फागुनका लागि तय भएको निर्वाचनमा काँग्रेस पराजित भए प्रजातन्त्र खतरामा पर्ने उनको भनाइ थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *