यू-१९ पुरुष एशिया कप : नेपाल पहिलाे खेलमा श्रीलङ्कासँग ८ विकेटले पराजित
थानकोट ।
एसीसी १९ वर्षमुनिको एशिया कप क्रिकेटको आफ्नो खेलमा नेपाल श्रीलङ्कासँग ८ विकेटले पराजित भएको छ ।
नेपालले दिएको ८३ रनको सामान्य लक्ष्य श्रीलङ्काले १४ ओभर ५ बलमा २ विकेट गुमाएर भेटायो । श्रीलङ्काका दिमन्थ महाविथानाले नटआउट ३९ रन बनाए । नेपालका दयानन्द मण्डलले १ विकेट लिए ।
यसअघि संयुक्त अरब इमिरेट्स (यूएई) को सेभेन्स स्टेडियममा टस हारेर ब्याटिङ गरेको नेपालले २८ ओभर ५ बलमा ८२ रन बनाउँदा सबै विकेट गुमायो । नेपालका सब्रिन श्रेष्ठले सबैभन्दा धेरै १८ रन बनाए । यस्तै साहिल पटेलले १२, निरजकुमार यादवले १० रन बनाए । श्रीलङ्काका सेठमिका सेनेविरत्नेले ५ विकेट लिए ।
नेपालले दोस्रो खेलमा पर्सि मङ्सिर २९ गते बङ्गलादेशसँग र तेस्रो खेलमा पुस २ गते अफगानिस्तानसँग खेल्नेछ । हिजोदेखि शुरू भएको प्रतियोगिताको समूह ‘ए’ मा भारत, पाकिस्तान, यूएई र मलेशिया तथा समूह ‘बी’ मा नेपाल, अफगानिस्तान, बङ्गलादेश र श्रीलङ्का रहेका छन् ।
दुवै समूहबाट शीर्ष दुई रहने टोली सेमिफाइनलमा पुग्नेछ । फाइनल खेल आउँदो पुस ६ गते हुनेछ ।













