काठमाडौं क्षेत्र नंं ९ मा कांग्रेसबाट जयकृष्ण महर्जनसहित ६ जनाको नाम सिफारिस
थानकोट ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ९ ले उम्मेदवारको नाम सिफारिस गरेको छ ।
प्रत्यक्षतर्फ ६ जना र समानुपातितर्फ ७ जनाको नाम सिफारिसको सूचीमा राखिएको हो ।
क्षेत्रीय समितिले फागुनमा हुने निर्वाचन अन्तर्गत प्रत्यक्षतर्फ क्षेत्रीय सभापति जयकृष्ण महर्जनसहित रस्मिला मल्ल, धर्मराज गौतम, नानु बास्तोला, श्यामकृष्ण खड्का र राजन खत्रीलाई उम्मेदवारको रूपमा सिफारिस गरेको हो ।
त्यस्तै, समानुपातिक निर्वाचनतर्फ किरण गिरी, गौरीप्रसाद दवाडी, डा. अमिता प्रधान, अधिवक्ता सुधा रिजाल, दिलमाया अधिकारी, गोमा गुरुङ र कल्याणी खड्काको सिफारिस गरिएको छ ।
साथै, माघ ११ मा हुने राष्ट्रिय सभा निर्वाचनका लागि पूर्वसांसद ध्यानगोविन्द रन्जित र दामोदर गौतमलाई राष्ट्रिय सभा सदस्यको उम्मेदवारको रूपमा सिफारिस गरिएको छ । कांग्रेस क्षेत्र नं.९ का सभापति महर्जनले प्रतिनिधिसभाको प्रत्यक्ष, समानुपातिक र राष्ट्रियसभामा उम्मेदवारको नाम सिफारिस गरिएको बताए ।
प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस भएका गौतम, बास्तोला र खड्का यस अघिको चुनावमा बाग्मती प्रदेश सांसदका उम्मेदवार भएपनि पराजित भएका थिए । मल्ल महासमिति सदस्य हुन् भने खत्री क्षेत्रिय प्रतिनिधि हुन् ।
यो निर्वाचन क्षेत्रमा काठमाडौं महानगरपालिकाको १२, १४, २१ र २२ नं वडा पर्छन् भने चन्द्रागिरि नगरपालिकाको वडा नं १, १२, १३, १४ र १५ पर्छन् भने नागार्जुन नगरपालिकाको वडा नं ६, ७, ८, ९ र १० पर्छन्।
तस्बिरः श्यामकृष्ण महर्जनको फेसबुकबाट ।













