कांग्रेस चन्द्रागिरि नगर सभापतिमा आकांक्षीको लर्को, हालका सभापति घनश्याम गिरी बिदा हुँदै
थानकोट ।
नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आगामी पुस २६ देखि २८ गतेसम्म काठमााडैंमा हुँदैछ ।
महाधिवेशनको मिति तय भएसँगै नेता तथा कार्यकर्ताहरू त्यतातर्फ केन्द्रित भइसकेका छन् ।
कांग्रेसले गाउँ/नगर वडा अधिवेशन पुस १६ गते, गाउँ/नगरपालिका अधिवेशन पुस १७ गते, प्रदेश सभा क्षेत्रीय अधिवेशन पुस १९ गते, प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन- एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन पुस २१ गते, दुई वा दुई भन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन पुस २२ गते तथा प्रदेश अधिवेशन पुस २३ र २४ गते गर्ने कार्यतालिका मंसिर १५ गते बसेको कांग्रेस केन्द्रीय कार्यसमितिले पारित गरेको थियो ।
चन्द्रागिरि नगर क्षेत्रमा पनि कांग्रेस केन्द्रीय कार्यसमितिले निर्दिष्ट गरेको अधिवेशन तालिका अनुसार वडा तथा नगरको नेतृत्व तथा अन्य पदाधिकारीका लागि थुप्रै नेता कार्यकर्ताहरूबीच प्रतिस्पर्धा हुने देखिएको छ ।
चन्द्रागिरि नगरका मेयर घनश्याम गिरीले विधानत अब नगरमा पार्टीको नेतृत्व गर्न नपाउने भएपछि सभापति बन्न सो पार्टीका हालका पदाधिकारीहरूसहित चन्द्रागिरि नगरपालिकामा कांग्रेसबाट चुनाव जितेका बहालवाला जनप्रतिनिधिहरूले समेत चासो देखाइ रहेका छन् । यस्तै, कांग्रेसका शुभेच्छुक संस्थाको अग्रस्थानमा रहेका नेताले समेत पार्टीको नेतृत्व लिन प्रयास गरिरहेको बुझिएको छ ।
पार्टी सभापति मेयरको टिकटका लागि पहिलो वरियतामा रहने व्यवस्था भएपछि स्थानीय तहको निर्वाचनलाई ध्यानमा राख्दै नेपाली कांग्रेसमा सभापतिको पद हात पार्न रस्साकस्सी चुलिएको हो ।
स्रोतका अनुसार हालसम्म करिब १३ जनाले नेपाली कांग्रेस चन्द्रागिरि नगर समितिको नेतृत्व गर्न इच्छा देखाएका छन् र यो संख्या बढ्ने देखिएको छ । यद्यपी पुस १७ गते हुने नगर अधिवेशनको छेको पारेर आकांक्षीहरूले नाम सार्वजनिक गर्ने मनस्थिति बनाएको बुझिएको छ ।













