साफ क्लब महिला च्याम्पियनसिपः नेपाल एपीएफ र इस्ट बंगाल उपाधिका लागि भिड्ने
थानकोट ।
भारतीय टिम इस्ट बंगाल र घरेलु टिम सशस्त्र प्रहरी बलको एपीएफ फुटबल क्लब साफ क्लब महिला च्याम्पियनसिपको फाइनल खेल्ने भएको छ ।
आइतबारसमूह चरणअन्तर्गत बंगलादेशी टिम नस्रिन स्पोर्ट्स एकेडेमीविरुद्ध ७–० को जित निकालेसँगै इस्ट बंगालले एपीएफसँग खेल्ने तय भएको हो ।
जितसँगै इस्ट बंगाल तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । इस्ट बंगालले तीन खेल खेल्दा शतप्रतिशत जित निकाल्दै नौ अंक जोडेको हो ।
आइतबार इस्ट बंगाललाई काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जित दिलाउन टोलीकी फजिला इक्वापुतले पाँच गोल गरिन् । सुलञ्जना राउल र ज्योति चौहानले पनि समान एक गोल गरिन् ।
इस्ट बंगालले पहिलो हाफमा चार र दोस्रो हाफमा तीन गोल गरेको थियो ।
इस्ट बंगाललाई सातौँ मिनेटमा फजिलाले अग्रता दिलाइन् । फजिलाले २७औँ मिनेटमा अग्रतालाई दोब्बर बनाइन् । ४५औँ मिनेटमा फजिलाले ‘ह्याट्रिक’ गरेपछि इस्ट बंगालले ३–० को अग्रता बनायो । पहिलो हाफको इन्जुरी समयमा ज्योतिले अग्रतामा एक गोल थपिन् ।
७३औँ मिनेटमा सुलञ्जनाले गोल गर्दै अग्रतालाई ५–० को अवस्थामा पुर्याइन् । यसपछि, क्रमशः ७४औँ र ९०औँ मिनेटमा फजिलाले गोल गरेपटि इस्ट बंगालले ७–० को जित पक्का गरेको हो ।
पराजित नस्रिन भने तालिकाको पुछारमा रही एक अंकमा सीमित छ । यो नतिजासँगै नस्रिन प्रतियोगिता होडबाट बाहिरिएको हो । नस्रिनले अब अन्तिम खेलमा भुटानी क्लब ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीसँग खेल्नेछ ।













