नेपाल विद्यालय खेलकुद महासंघ र अपेनबीच समझदारीपत्रमा हस्ताक्षर

Thankot Times

थानकोट ।

नेपाल विद्यालय खेलकुद महासंघ र एसोसिएसन अफ प्रि-स्कुल एजुकेटर्स नेपाल (अपेन) बीच विद्यालय तहका बालबालिकामा खेलकुद गतिविधि प्रवर्द्धन गर्ने उद्देश्यसहित समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।

उक्त समझदारीअनुसार दुवै संस्थाले प्रि-स्कुल तथा प्रारम्भिक तहका बालबालिकाको शारीरिक, मानसिक र सामाजिक विकासका लागि संयुक्त रूपमा खेलकुद कार्यक्रमहरू सञ्चालन गर्नेछन् ।

विशेषतः प्रि-स्कूल गेम्स, किण्डर ओलम्पिक, तालिम, अभिमुखीकरण, प्रतियोगिता तथा बालमैत्री खेलकुद गतिविधिहरूलाई व्यवस्थित र समावेशी रूपमा अघि बढाइनेछ ।

समझदारीपत्रमा महासंघका तर्फबाट उपाध्यक्ष मोहन कुमार कार्की, महासचिव राज कुमार कार्की र अपेनको तर्फबाट अध्यक्ष बद्री दाहाल, महासचिव कृष्ण कुमार बोहराले बुधबार हस्ताक्षर गरेका हुन् ।

कार्यक्रममा दुवै संस्थाका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

महासंघले अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासंघबाट मान्यता प्राप्त संस्थाको हैसियतमा राष्ट्रिय खेलकुद परिषद्सँग सहकार्य गर्दै विद्यालय खेलकुदको विकासमा अग्रणी भूमिका निर्वाह गर्दै आएको छ ।

अपेनसँगको यो सहकार्यले प्रि-स्कुल तहदेखि नै खेलकुद संस्कृतिको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

दुवै संस्थाले आपसी सहकार्यलाई थप सुदृढ बनाउँदै दीर्घकालीन कार्यक्रमहरू कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ