एमालेको ११औं राष्ट्रिय महाधिवेशन: केन्द्रीय सदस्य पदमा चन्द्रागिरिका यी नेताले पाए सानदार मत
थानकोट ।
नयाँ नेतृत्व चयन र सामयिक राजनीतिक प्रस्ताव पारित गर्दै नेकपा (एमाले) को ११औं राष्ट्रिय महाधिवेशन बिहीबार सम्पन्न भएको छ ।
नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारीहरूले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।
भक्तपुरको सल्लाघारीमा गत मंसिर २७ गते उद्घाटन भई काठमाडौँको भृकुटीमण्डपमा मंसिर २८ गतेदेखि सुरु भएको बन्दसत्रको बिहीबार औपचारिक समापन भएको हो । केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले अन्तिम मत परिणाम घोषणा गरेका थिए ।
अन्तिम मत परिणाममा केपी शर्मा ओलीको नेतृत्वमा ३०१ सदस्यीय केन्द्रीय कमिटी र २५/२५ सदस्यीय केन्द्रीय अनुशासन आयोग र लेखा आयोगका पदाधिकारी र सदस्यहरु निर्वाचित भएका छन् । अध्यक्षमा निवर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्रतिस्पर्धामा रहेका थिए ।
आयोगका अध्यक्ष सुब्बासमक्ष नवनिर्वाचित पार्टी अध्यक्ष ओलीले शपथ लिए भने अन्य पदाधिकारी तथा सदस्यलाई अध्यक्ष ओलीले शपथ गराए ।
निर्वाचनमा विभिन्न क्लस्टरमा उम्मेदवारी दिएका मध्ये चन्द्रागिरि नगरपालिका थानकोट निवासी विनोद श्रेष्ठले केन्द्रीय सदस्य पदमा सम्मानजनक मतका साथ जित हात पारेका छन् ।
केन्द्रीय सदस्य समावेशी (श्रमिक) क्लस्टरको श्रमिक खुला समुहमा श्रेष्ठले १८७२ मतका पाउँदै केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । श्रेष्ठ सो पार्टीको महाधिवेशन तथा अन्य ठूला कार्यक्रम व्यवस्थापनमा निरन्तर अग्र स्थानमा खटिँदै आएका छन् ।













