खेलाडीलाई ८० सेकेन्ड ढिलो मैदानमा प्रवेश गराएपछि एन्फामाथि २५ सय डलर जरिवाना
थानकोट।
एसियाली फुटबल महासंघ (एएफसी)ले अखिल नेपाल फुटबल संघ (एन्फा)माथि कारबाहीस्वरूप जरिवाना गरेको छ ।
एएएफसीले आफ्नो आधिकारिक प्रतियोगितामा ढिलो गरी मैदानमा प्रवेश गरेका कारण एन्फामाथि दुई हजार अमेरिकी डलर जरिवाना तोकेको हो ।
एएफसी एसियन कप छनोट प्रतियोगिताको अन्तिम चरणअन्तर्गत गएको नोभेम्बर १८ मा मलेसियाविरुद्ध खेलको पहिलो हाफमा एक मिनेट २० सेकेन्ड र दोस्रो हाफमा एक मिनेट ३० सेकेन्ड ढिलो मैदानमा प्रवेश गरेको भन्दै एएफसीले नेपाल र मलेसिया दुवैलाई जरिवाना गरेको हो । मलेसियामाथि २५ सय डलर जरिवाना गरिएको छ ।
सोही खेलमा ‘प्लेयर अफ दी म्याच’ भएका मलेसियाका रक्षक मोहम्मद फैसल बिन अब्दुल हलिममाथि पनि नगद जरिवाना गरिएको छ । उनी खेलको ‘लेयर अफ दी म्याच भएपछि पोस्ट म्याच पत्रकार सम्मेलनमा उपस्थित नभएका कारण कारबाहीमा परेका हुन् । उनलाई एएफसीको अनुशासन समितिले १० हजार डलर जरिवाना गरेको छ ।
आफ्ना खेलाडीलाई नियमानुसार पोस्ट म्याच पत्रकार सम्मेलनमा उपस्थित नगराएको मूल्य मलेसिया फुटबल संघले पनि जरिवाना तिरेर चुकाउनुपरेको छ । मोहम्मद पत्रकार सम्मेलनमा उपस्थित नभएको विषयमा मलेसिया फुटबल संघमाथि पनि १० हजार डलर जरिवाना गरिएको छ ।
एन्फा, मलेसिया फुटबल संघ तथा मलेसियाली रक्षक मोहम्मदले आउँदो जनवरी १५ सम्ममा जरिवाना रकम तिरिसक्नुपर्ने एएफसीको निर्णयमा उल्लेख छ ।
नेपाल प्रतियोगिताको समूह ‘एफ’को पुछारमा सीमित भएर अर्को वर्ष साउदी अरेबियामा हुने प्रतियोगिताबाट बाहिरिएको थियो । समूहका पाँचमध्ये सबै खेलमा हार व्यहोरेको नेपालले अंकको खाता समेत खोल्न सकेको थिएन ।
भियतनाम र लाओस समेत सम्मिलित नेपालको समूहबाट शीर्ष स्थानमा रहँदै मलेसिया साउदी अरेबियामा हुने प्रतियोगिताका निम्ति छानिएको थियो । भियतनाम समूहका पाँच खेलमा १२ अंक जोड्दै दोस्रो स्थानमा रह्यो । लाओसले तीन अंक जोडेको थियो ।













