राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्य सचिवमा पुनः डा. नरेश सुवेदी
थानकोट ।
ललितपुरस्थित राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्य सचिवमा संरक्षणविद् डा. नरेश सुवेदी पुनः नियुक्ति भएका छन्।
राष्ट्रिय प्रकृति संरक्षण कोष ऐन २०३९ मा भएको व्यवस्था अनुसार संचालक समितिको बैठकले उनलाई पाँच वर्षका लागि पुनः नियुक्ति गरिएको हो।
यसअघि कोषकै उनी वरिष्ठ निर्देशक रहेका थिए। उनी विगत २५ वर्षदेखि कोषको सेवामा अनवरत रूपमा काम गर्नु भएको डा. सुवेदी नेपालको प्रकृति संरक्षण र जैविक विविधताको क्षेत्रमा विशिष्ट योगदान पुर्याएका थिए।
उनकै पहल र सक्रियतामा ललितपुरस्थित सदर चिडियाखानाको व्यवस्थापन आगामी ३० वर्षका लागि पुनः कोषलाई नै जिम्मा दिने निर्णय गरिएको थियो।
उनको नेतृत्वदायी क्षमता र अन्तर्राष्ट्रिय समन्वयका कारण विभिन्न दातृ निकायहरूबाट संरक्षण केन्द्रीत दुई सयभन्दा बढी परियोजनाहरू कोषमा भित्रिएका छन्। जसले नेपालको संरक्षण अभियानलाई थप सुदृढ बनाएको छ।
प्राज्ञिक र अनुसन्धानको क्षेत्रमा समेत डा. सुवेदीको उपस्थिति निकै प्रभावशाली रहेको छ। उनका हालसम्म करिब १५० भन्दा बढी उच्चस्तरीय अनुसन्धानमूलक कृतिहरू प्रकाशित भइसकेका छन् भने उनले दुई दर्जनभन्दा बढी शोधकर्तालाई विद्यावारिधि तहमा सफलतापूर्वक मार्गदर्शन गरेका छन्।
डा. सुवेदी संरक्षण विज्ञान र व्यवस्थापनमा दख्खल समेत रहेका छन्।













