राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा
थानकोट ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् ।
उच्च अदालत बुटवलबाट धरौटीमा रिहा हुने आदेशअनुसार कागजी प्रक्रिया पूरा गरेर लामिछाने आज साँझ रुपन्देही जिल्ला कारगारबाट छुटेका हुन् । काठमाडौंबाट भरतपुरसम्म हवाइ मार्ग र त्यहाँबाट सडक मार्ग हुँदै साँझ पौने ६ बजे रुपन्देही पुगेका थिए ।
उनलाई सुरुमा रुपन्देही कारागारमा राखिएको थियो ।
तर, उनी आफैँले जेल सरुवा मागेर ललितपुरस्थित नख्खु कारागारमा ल्याइएको थियो ।
बिगोबापतको २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बुझाएपछि उनी रिहा भएका हुन् ।
लामिछाने भैरहवा कारागार आइपुग्दा र छुटेपछि रास्वपाका नेता कार्यकर्ता र समर्थकहरूले उनको पक्षमा नाराबाजी गर्दै खुसीयाली मनाएका छन् ।
रूपन्देही जिल्ला अदालतका सूचना अधिकारी पदम अर्यालले उच्च अदालतको आदेशअनुसार केही शर्त र बैंक जमानतको कागज गरेर छाडिएको बताए ।
बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीशद्वय वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले उनलाई धरौटीमा छाड्ने आदेश दिएको थियो ।













