बहालवाला जनप्रतिनिधि फागुन २१ को निर्वाचनमा उम्मेदवार बन्न नपाउने नेकपाको निर्णय
थानकोट ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आउँदो माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचन र फागुन २१ का निम्ति तय प्रतिनिधि सभा सदस्य निर्वाचनका निम्ति उमेदवार छनोटमा नयाँ मापदण्ड लागु गरेको छ । पार्टीको आन्तरिक परिपत्रमा उमेदवारले कानुनी, आर्थिक, सामाजिक र वैचारिक रूपमा पूर्ण स्वच्छ हुनुपर्ने स्पष्ट उल्लेख गरिएको छ ।
परिपत्रअनुसार, प्रतिनिधि सभाका उमेदवार २५ र राष्ट्रियसभातर्फ ३५ वर्ष उमेर पूरा गरेको नेपाली नागरिक हुनुपर्नेछ । मतदाता नामावलीमा नाम दर्ता भएको र संविधान–कानुनले अयोग्य ठहर्याएको हुन नहुने प्रावधान छ ।
बहालवाला राष्ट्रिय सभा, प्रदेश सभा वा स्थानीय तहका पदाधिकारीलाई उमेदवारीबाटै वञ्चित गरिएको छ । आर्थिक पारदर्शितालाई पार्टीले विशेष जोड दिएको छ ।
भ्रष्टाचार मुद्दामा अदालतबाट दोषी ठहरिएका व्यक्ति उमेदवार बन्न अयोग्य हुनेछन् । कर–राजस्वमा पूर्ण अद्यावधिक, कालोसूचीमा नाम नभएको र सम्पत्ति तथा आयस्रोतको स्पष्ट घोषणा गर्न तयार हुनुपर्ने अनिवार्य सर्त राखिएको छ ।
पार्टीको आर्थिक अनुशासन उल्लंघन गर्नेहरू पनि उमेदवारीबाट बाहिरिनेछन् । सामाजिक आचरणमा पनि कुनै सम्झौता नगर्ने नीति अवलम्बन गरिएको छ ।
जातीय–लैंगिक भेदभाव, घरेलु हिंसा, यौन उत्पीडन, मानव बेचबिखनजस्ता मुद्दामा दोषी ठहरिएका व्यक्ति पार्टीबाट उमेदवार बन्न नपाउने भएका छन् ।
राजनीतिक रूपमा पार्टीको नीति–कार्यक्रमप्रति पूर्ण प्रतिबद्धता, आन्दोलनमा निरन्तर योगदान, सामाजिक प्रतिष्ठा र जनतामा लोकप्रियता उमेदवारका निम्ति अनिवार्य मापदण्ड तोकिएको छ । उमेदवार सिफारिस गर्दा विषयगत विज्ञता, नीति निर्माण क्षमता र सार्वजनिक संवाद कौशललाई पनि आधार बनाइनेछ ।
प्रत्यक्षतर्फ प्रत्येक क्षेत्रबाट कम्तीमा एक युवा र एक महिलासहित बढीमा पाँचजना सिफारिस गर्नुपर्नेछ । जित्ने सम्भावना भएका लोकप्रिय व्यक्तिलाई प्राथमिकता दिन निर्देशन गरिएको छ ।
समानुपातिकतर्फ महिला, दलित, जनजाति, मधेसीलगायत क्लस्टरलाई अनिवार्य समेट्दै सहिद–बेपत्ता परिवार, द्वन्द्वपीडित र विपन्न वर्गलाई विशेष प्राथमिकता दिनुपर्नेछ । एकै परिवारबाट एकभन्दा बढी व्यक्ति सिफारिस गर्न पूर्ण प्रतिबन्ध लगाइएको छ ।
राष्ट्रिय सभातर्फ प्रदेशस्तरबाट प्रत्येक क्लस्टरका निम्ति बढीमा पाँच/पाँचजना सिफारिस गर्ने प्रावधान राखिएको छ ।
पार्टी नेतृत्वले यो मापदण्ड कडाइका साथ कार्यान्वयन गर्दै स्वच्छ र जनमुखी उमेदवार मात्र मैदानमा उतार्ने प्रतिबद्धता जनाएको छ ।
यो कदमले निर्वाचनमा पार्टीको छवि थप बलियो हुने अपेक्षा गरिएको छ । परिपत्र सबै तहका कमिटीसम्म पुगिसकेको नेकपाले जनाएको छ ।













