१५ औं इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिपः चन्द्रागिरि तेक्वान्दो डोजाङ तेस्रो

Thankot Times

थानकोट।

नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) ले ४५ स्वर्ण, ३२ रजत र ३१ कांस्य पदक जित्दै १५ औं इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी) मा टिम च्याम्पियनको ट्रफी उचालेको छ ।

राष्ट्रिय खेलुकद परिषद्को कभर्डहलमा शनिबार सम्पन्न च्याम्पियनसिपमा नेप्लिज तेक्वान्दो एकेडेमी च्याम्पियन बन्दा कोटेश्वर तेक्वान्दो डोजाङ दोस्रो र चन्द्रागिरि तेक्वान्दो डोजाङ तेस्रो स्थानमा रहे । कोटेश्वरले ३१ स्वर्ण, २० रजत र १५ कांस्य तथा तेस्रो हुने चन्द्रागिरिले ९ स्वर्ण, ७ रजत र ३ कांस्य पदक जितेका थिए । चौथो हुने अमेरिकी टिमले ८ स्वर्ण र २ रजत पदक जितेको थियो । च्याम्पियन एकेडेमीले ट्रफीसहित ५० हजार रुपैयाँ प्राप्त गर्‍यो । कोटेश्वर ३७ हजार ५ सय र चन्द्रागिरिले २५ हजार रुपैयाँ पाए ।

ग्रान्ड च्याम्पियनततर्फ पहिलो इभेन्टअन्तर्गत पुरुषतर्फ भुवन महरा र महिलातर्फ माल्दिभ्सकी फातिमा इब्राहिम विजेता बने । ग्रान्ड च्याम्पियनतर्फ दोस्रो इभेन्टमा पुरुषतर्फ अमेरिकाका डेनिस कारन्जित र महिलातर्फ कोटेश्वर डोजाङकी मनीषा विश्वकर्मा च्याम्पियन भए । तेस्रो इभेन्टमा पुरुषतर्फ निराप लामा र महिलातर्फ इसिका राना विजेता भए । ग्रान्ड च्याम्पियनमा विजेता बन्ने ६ खेलाडीले जनही ५० हजार पुरस्कार पाए ।

ग्योरोगीतर्फ चन्द्रागिरिका समिर ठाकुर र मनीषा नेपाल सर्वोत्कृष्त खेलाडी घोषित भए । पुम्सेमा पुरुषतर्फ बंगलादेशका अफिफ अहमद र महिलामा सुमिना वाइबा उत्कृष्ट खेलाडी चुनिए । चारै खेलाडी जनही २५ हजारबाट पुरस्कृत भए ।

रेफ्रीमा प्रजुन कुइँकेल र जमुना श्रेष्ठ उत्कृष्ट भए । प्रशिक्षकमा अमेरिकाका अनमोल गोर्खार्ली र भारतकी कविता घर्ती उत्कृष्ट भए । उत्कृष्टले जनही २५ हजार पुरस्कार पाए ।

सर्वाधिक सहभागिताका आधारमा तीन टिमलाई नगद पुरस्कारसहित सम्मान गरियो । नेप्लिज तेक्वान्दो एकेडेमीबाट सर्वाधिक सहभागिता रहेको थियो । नेप्लिजले प्रोत्साहनस्वरुप ५० हजार पायो । दोस्रो धेरै खेलाडी सहभागी गराउने कोटेश्वर तेक्वान्दो डोजाङलाई ३७ हजार ५ सय र तेस्रो सर्वाधिक खेलाडी सहभागी गराउने काभ्रे तेक्वान्दो डोजाङलाई २५ हजार रुपैयाँ प्रदान गरियो ।

विजेतालाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले पुरस्कृत गरे ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ