बलम्बु बस्दै आएका बा जेन-जी प्रदर्शनमा गोली लागेर मारिएको सुवासले भोलिपल्ट थाहा पाए…….

Thankot Times

थानकोट ।

भदौ २३ गते साँझ ३० वर्षीय सुवास कुथुमी (राई) लाई साथीहरूको फोन आयो।

सबैले एउटै कुरा सोधे, ‘धनकुटा पाख्रीबासको पारूवाङ उथुमी भन्ने मान्छे चिन्छस्? जेनजी आन्दोलनमा प्रहरीको गोली लागेर त्यो मान्छेको मृत्यु भयो रे!’

जबाफमा सुवासले भने, ‘हुन त म त्यही ठाउँको हो। तर त्यस्तो नाम भएको मान्छेलाई म चिन्दिनँ।’

धेरैले तारन्तार फोन गरेपछि सुवासले आफन्तहरूलाई पनि सोधे। ठाउँ एकै र थर पनि उस्तै उस्तै भएकाले आफन्तहरूले सोधिखोजी गरे। तर पाख्रीबासका पारूवाङ उथुमीलाई कसैले चिनेनन्।

सुवासले उत्सुकतावश गुगल र फेसबुकमा खोजे।

तर त्यो नामको पहिचान कतैबाट खुलेन।

भोलिपल्ट भदौ २४ गते बिहानै चिनजानका एक जना दाजुले फोन गरे र उही कुरा सोधे, ‘भाइ, यो पारूवाङ उथुमी भन्ने मान्छे तिमी चिन्छौ?’

सुवासले पहिलेकै जबाफ दिए।

ती चिनजानका दाजुले एउटा भिडिओ पठाइदिए।

त्यो भिडिओ भदौ २३ गते नयाँबानेश्वरमा गोली लागेर घाइते भएका पारूवाङ उथुमीलाई अस्पताल लग्दै गर्दाको थियो।

सुवासले जसै ह्वाटसएपमा प्राप्त भिडिओ हेरे, गोली लागेर घाइते व्यक्तिको अनुहार देखेर उनको सास फुल्यो।

भिडिओमा पारूवाङ उथुमी भनिएका ती व्यक्ति अरू कोही होइन, सुवासकै बुबा थिए।

आफ्ना बुबालाई रगताम्मे हालतमा देखेपछि सुवास एक छिनसम्म त केही बोल्नै सकेनन्। आकासै खसेर थिचेजस्तो अनुभव भयो।

‘अघिल्लो दिनदेखि जसलाई मैले चिनेको छैन भनिरहेको थिएँ,उहाँ त मेरै बुबा हुनुहुँदो रहेछ,’ सुवासले भने, ‘नाम गलत परेकाले आफ्नै बुबाको मृत्युको खबर मैले दोस्रो दिन मात्र थाहा पाएँ।’

उनको बुबाको खास नाम छत्रमान कुथुमी हो। मान्छेले झुक्केर वा परिचय राम्ररी नबुझेर उनलाई गलत नाम दिइरहेका थिए र त्यही गलत नामका आधारमा सनाखत गर्न खोज्दै थिए। त्यसरी गलत नामको प्रचार कसरी भयो भन्ने सुवासलाई अहिले पनि थाहा छैन।

भिडिओ हेरेर बुबाको मृत्युको खबर पुष्टि गरेपछि सुवासको निम्ति अर्को चुनौती भनेको त्यो खबर आमालाई सुनाउनु थियो।

उनले निकै हिम्मत जुटाएर करिब पौने घन्टापछि आमालाई खबर सुनाए। त्यसपछि आफन्तहरूलाई पनि जानकारी गराए।

भिडिओ पठाउने दाजुबाट उनले बुबाको शव सिभिल अस्पतालमा छ भन्ने थाहा पाएका थिए। त्यसै आधारमा अस्पताल गएर शव पहिचान गरे।

चिकित्सकहरूका अनुसार सुवासका बुबा छत्रमान कुथुमीको छातीमा गोली लागेर मृत्यु भएको थियो।

धनकुटाको पाख्रीबास नगरपालिका–१०, चुङमाङका छत्रमान ६३ वर्षका थिए। उनका तीन श्रीमती छन्। जेठी श्रीमतीका एक छोरा र एक छोरी छन् भने माइली श्रीमतीका एक्ला छोरा सुवास हुन्। कान्छी श्रीमतीका एक छोरी छिन्।

घटना हुनुअघिसम्म सुवासले आफ्ना बुबा कान्छी श्रीमतीसँग काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ मा बस्छन् भन्ने सुनेका थिए। तर घटनापछि उनले थाहा पाए — छत्रमान त कान्छी श्रीमतीसँग पनि छुट्टिएर चन्द्रागिरिमा एक्लै बसिरहेका रहेछन्।

उनी लामो समयदेखि आफ्ना बुबाको सम्पर्कमा थिएनन्। सम्पर्कमा नभएकाले उनी कसरी जेनजी आन्दोलनमा पुगे भन्ने सुवास वा उनको परिवार कसैलाई थाहा छैन।

हामीले छत्रमानकी कान्छी श्रीमती मन्दिरा श्रेष्ठलाई पनि यसबारे सोध्यौं। उनले पनि तीन वर्षअघि नै आफू छत्रमानसँग छुट्टिएको जानकारी दिइन्।

पछिल्लो समय सम्पर्क नभए पनि सुवासले आफ्नो जीवनका सुरूआती डेढ दशक बुबासँगै बिताएका थिए। त्यस आधारमा उनी कस्तो स्वभावका व्यक्ति थिए भन्ने सुवासलाई राम्ररी थाहा छ।

उनका अनुसार छत्रमान यस्ता आन्दोलनमा प्राय: गइरहन्थे। देशको बेथिति र भ्रष्टाचार देखेर मुर्मुरिन्थे र राजनीतिमा कहिले सुधार आउला भन्दै पिरोलिन्थे।

‘देश परिवर्तन गर्न कोही आउँदैन। हामीजस्तो भुइँमान्छे नै सडकमा आउनुपर्छ भन्नुहुन्थ्यो,’ सुवासले आफ्ना बुबाबारे भने, ‘जेनजी आन्दोलन पनि भ्रष्टाचार र बेथिति हटाउनुपर्छ भन्ने उद्देश्यले आह्वान गरिएको थियो। उहाँ त्यही भएर आन्दोलनमा भाग लिन जानुभएको हुन सक्छ।’

सुवास र उनका आफन्तजनले भदौ ३१ गते छत्रमानको शव प्राप्त गरे। त्यसै दिन उनीहरू सेनाको हेलिकप्टरमा शव लिएर धनकुटा गए र असोज १ गते आफ्नै गाउँमा अन्त्येष्टि गरे।

‘म त बुबासँग सम्पर्कमा थिइनँ। तर गाउँमा रहेका हजुरआमाको जिम्मेवारी उहाँले नै सम्हाल्नुभएको थियो,’ सुवासले भने, ‘बुबाको त्यो जिम्मेवारी सरकारले पूरा गरिदिए हुन्थ्यो।’

उनले अगाडि भने, ‘उहाँले बुबा हुनुको भूमिका निर्वाह नगरे पनि छोराको कर्तव्य पूरा गरिरहनुभएको थियो।’

उनका अनुसार छत्रमान परिवारका पाँच सन्तानमध्ये जेठा छोरा हुन्। जेठो छोरा भएकाले उनी गाउँका हजुरआमालाई बेलाबेला खर्च पठाउँथे, भेट्न पनि गइरहन्थे। हजुरबुबा भने दुई दशकअघि नै बितिसकेको सुवास बताउँछन्।

***

साभारः  सरिशा अछामी, सेतोपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ