चन्द्रागिरिमा प्रथम लिटिल एथ्लेट्स फेस्टिभल सम्पन्न, २६ विद्यालयका ५२० जना विद्यार्थी एकै मञ्चमा
थानकोट ।
चन्द्रागिरि नगरका मेयर घनश्याम गिरीले पूर्वप्राथमिक तहमा बालबालिकाहरूले प्राप्त गर्ने ज्ञानले उनीरूको भविष्यको मार्ग निर्देशन गर्ने भएकोले बाल विकास सहजकर्ता शिक्षक शिक्षिकाहरूको भूमिका महत्वपूर्ण हुने बताएका छन् । चन्द्रागिरि नगरपालिकासँगको सहकार्यमा एशोसियसन अफ प्रि-स्कुल एजुकेटर्स नेपाल (अपेन)ले शनिबार (पाैष ५) थानकोटस्थित मंगलोदय मावि प्राङ्गणमा आयोजना गरेको पहिलो संस्करणको अपेन लिटिल एथ्लेट्स फेस्टिभलमा मेयर गिरीले सो धारणा राखेका हुन् ।
बाल विकास सहजकर्ताको क्षमता अभिवृद्धिका लागि नगरपालिकाले निरन्तर कार्य गरिरहेको बताउँदै मेयर गिरीले निजी क्षेत्रबाट प्रि-स्कुल तथा मन्टेश्वरी तहमा खटिने शिक्षक शिक्षिका तथा सहजकर्ताहरूको क्षमता बढाउन लगानीकर्ताले कुनै कसर बाँकी राख्न नहुने धारणा राखे ।
हालै विद्यालय तहको राष्ट्रिपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता सफलतापूर्वक सम्पन्न भइसकेको सन्दर्भमा पूर्व प्राथमिक तहका विद्यार्थीहरूबीच खेलकुद तथा अन्य प्रतिस्पर्धात्मक खेल वातावरण सञ्चालन गरिनुले विद्यार्थीहरूमा खेल भावना तथा अनुशासित हुन सहयोग गर्ने उनको भनाइ थियो । नगर क्षेत्रका सबै तहका शिक्षालयहरूमा शैक्षिणक गुणस्तर तथा भाैतिक संसाधानको व्यवस्थापन नगरपालिकाको पहिलो प्राथमिकतामा रहेको मेयर गिरीले बताए ।
शनिबार सम्पन्न कार्यक्रममा नगर क्षेत्रका विभिन्न २६ विद्यालयका ५२० जना विद्यार्थीले सहभागिता जनाएको अपेन चन्द्रागिरि नगरपालिकाले जनाएको छ ।
कार्यक्रमका दाैरान ती विद्यालयमा अध्ययनरत ३ देखी ६ वर्ष उमेर समुहका विद्यार्थीहरूबीच विविध खेलको प्रदर्शनी, मार्चपास लगायत भएको थियो ।
चन्द्रागिरि नगर क्षेत्रका १० वटा सामुदायिक विद्यालय र १६ वटा संस्थागत विद्यालयका विद्यार्थीहरू उक्त कार्यक्रममा सहभागी भएको अपेन चन्द्रागिरि अध्यक्ष रितु शर्मा पाैडेलले जानकारी दिइन् ।
कार्यक्रमले पूर्व प्राथमिक तहमा अध्ययनरत विद्यार्थीहरूबीच विविध खेल सिकाइ तथा अन्य समकक्षी विद्यार्थीहरूसँग आपसी भाइचारा स्थापित गर्न सहयोग गरेको अपेन चन्द्रागिरि सचिव मिन्जुशोभा चित्रकारले बताइन् । अबका दिनमा आयोजना हुने यस प्रकारका कार्यक्रमलाई थप व्यवस्थित र व्यापक बनाइँदै लगिने उनको भनाइ छ ।
कार्यक्रममा चन्द्रागिरि नगरपालिका सामाजिक विकास समिति संयोजक तथा वडाध्यक्ष घनश्याम लुइँटेल, नगरको शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख बुद्धी भट्ट, मंगलोदय माविका प्रधानाध्यापक कवीन्द्र गोपाली लगायतको उपस्थिति रहेको थियो
अपेन, मन्टेश्वरी तथा प्रि स्कुलहरूको छाता संगठन हो ।
गतवर्ष चन्द्रागिरि नगरमा विस्तार भएको सो संस्थाको चन्द्रागिरि कमिटिमा हाल विभिन्न १६ विद्यालयले सदस्यता लिएका छन् ।
यससँग सम्बन्धित तस्बिर तथा भिडियो सामाग्री हेराैंः













