प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि डेढ लाख ‘निर्वाचन प्रहरी’ भर्ना गरिँदै
थानकोट ।
आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको सुरक्षार्थ सरकारले करिब डेढ लाख ‘निर्वाचन प्रहरी’ (साबिकका म्यादी प्रहरी) भर्ना गर्ने भएको छ ।
२१ फागुनका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षाका लागि १ लाख ४७ हजार निर्वाचन प्रहरी भर्ना गर्ने गरी गृह मन्त्रालयले निर्वाचन सुरक्षा व्यवस्थापन बजेट विनियोजन गर्न अर्थ मन्त्रालयमा प्रस्ताव गरेको हो ।
निर्वाचन सुरक्षाका लागि नेपाली सेनाका ७९ हजार ७ सय २७, नेपाल प्रहरीका ७१ हजार ६ सय २०, सशस्त्र प्रहरीका ३५ हजार १ सय १६ र राष्ट्रिय अनुसन्धान विभागका १ हजार ९ सय जनशक्ति तैनाथ गराउन लागिएको छ । अपुग सुरक्षाकर्मी निर्वाचन प्रहरीबाट भर्ना गर्न लागिएको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए ।
प्रवक्ता काफ्लेका अनुसार नेपाल प्रहरीमार्फत १ लाख ३२ हजार ३ सय ५७ निर्वाचन प्रहरी भर्ना गरी निर्वाचनमा खटाइनेछ । त्यस्तै १४ हजार ५ सय ७० जनालाई सशस्त्र प्रहरी मातहत खटिने गरी भर्ना गर्न लागिएको हो । विगतमा नेपाल प्रहरी मातहत म्यादी प्रहरी भर्ना गरिँदै आएकामा यस पटक सशस्त्र प्रहरी मातहत पनि खटाउन लागिएको हो ।
फाइल फोटो
















