माइतीघरबाट नियन्त्रणमा लिइएका जेन-जीहरू छुटे

Thankot Times

थानकोट ।

काठमाडौंको माइतीघर मण्डलामा सोमबार प्रदर्शनका क्रममा प्रहरीले नियन्त्रणमा लिएका मिराज समूहका जेन-जी अभियन्ताहरूलाई रिहा गरिएको छ।

सर्वपक्षीय सरकार गठनको माग राख्दै प्रदर्शनमा उत्रिएका उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी परिसर भद्रकाली पुर्‍याएको थियो। प्रहरीले सोधपुछ र सामान्य प्रक्रियापछि उनीहरूलाई केही बेरमै छाडेको हो।

जिल्ला प्रहरी परिसरका प्रवक्ता एवं एसपी पवन भट्टराईले पक्राउ परेका सबैलाई केही समयभित्रै रिहा गरिएको पुष्टि गरे।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रदर्शनका लागि अनुमति नदिए पनि समूहले जबरजस्ती कार्यक्रम गर्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको जनाएको छ। अनुमतिविपरीत प्रदर्शनमा उत्रिएर सडक अवरोध गरेपछि हटाउन खोजिएको प्रहरीको भनाइ छ।

यसैबीच, आफ्ना साथीहरूलाई प्रहरीले पक्राउ गरेपछि आन्दोलनका संयोजक मिराज ढुंगानासहितको टोली उनीहरूको रिहाइको माग गर्दै प्रहरी परिसर भद्रकाली पुगेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *