भदाै २४ का दिन जलाइएकी झलनाथ पत्नी रविलक्ष्मी उपचारपछि स्वदेश फर्किइन्

Thankot Times

थानकोट ।

पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकार तीन महिनासम्म भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचारपछि सोमबार स्वदेश फर्किएकी छिन् ।

जेनजी आन्दोलनका क्रममा घरमा भएको आगजनीमा गम्भीर घाइते भई जीवन–मरणको अवस्थाबाट गुज्रिएकी चित्रकारको स्वास्थ्य अवस्था अहिले स्थिर र सुधारोन्मुख भएपछि उनी नेपाल फर्किएकी हुन् ।

गत २४ भदौमा खनालदम्पती बसोबास गर्ने निवासमा भएको आगजनीमा चित्रकारको शरीरको करिब १५–१७ प्रतिशत भाग जलेको थियो। विशेष गरी देब्रे हातमा गम्भीर चोट लागेपछि सङ्क्रमण फैलिँदै जाँदा अवस्था जटिल बनेको थियो । 

सुरुमा कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भए पनि फोक्सोमा निमोनियाको सङ्क्रमण बढ्दै गएपछि चिकित्सकको सल्लाहमा उनलाई एयर एम्बुलेन्समार्फत दिल्लीस्थित एपोलो अस्पताल लगिएको थियो। एपोलो अस्पतालमा भर्ना भएपछि उनको लामो समय आइसियूमा राखेर उपचार गरिएको थियो ।

सङ्क्रमण नियन्त्रणमा ल्याउन चिकित्सकहरूले कडा प्रयास गर्नुपरेको र अन्ततः सङ्क्रमण फैलिन नदिन कुमभन्दा मुनिको देब्रे हात शल्यक्रिया गरेर काट्नुपरेको थियो ।

त्यसपछि क्रमशः अवस्था सुधार हुँदै गएपछि उनलाई आइसियूबाट जनरल वार्डमा सारिएको थियो। पछिल्ला केही सातादेखि उनी अस्पतालबाहिर बसेर नियमित फलोअप र उपचार गराउँदै आएकी थिइन् । 

नेपाल फर्किएपछि चित्रकारलाई डल्लुस्थित भाडाको घरमा राख्ने तयारी गरिएको छ । चित्रकार सोमबार साँझ नेपाल एयरलाइन्सको नियमित उडानमार्फत काठमाडौँ आइपुगेकी हुन् ।

तस्बिरः नेपाल फोटो लाइब्रेरी


Leave a Reply

Your email address will not be published. Required fields are marked *