काठमाडौंका मेयर बालेनलाई भेट्न ललितपुरमा घुइँचो

Thankot Times

थानकोट ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले ललितपुरमा गरिरहेको छलफलमा भिड बढेको छ । समानुपातिक सूची टुंग्याउने दिन नजिकिँदा बालेनले आफ्नै अग्रसरतामा पार्टी खोल्ने तयारी गरेपछि उनलाई भेट्न जानेको भिड बढेको हो ।

बालेन गएरातिदेखि आफ्नो अनुकूलता हुनेगरी टिम निर्माणको छलफलमा व्यस्त भइरहेका हुन् । यस्तै व्यस्तताको बीच आज बिहानैदेखि ललितपुरको ज्वागलस्थित बालेनका सहयोगी कुमार बेनको घरमा नेतादेखि कलाकारको भिड बढेको छ ।

आज बिहान मात्रै बालेनले उज्यालो नेपाली पार्टीका नेता कुलमान घिसिङसँग भेट गरेका छन् । रविसँग भन्दा कुलमानसँग सहज हुने गरी टिम निर्माणको छलफलमा बालेन जुटेका हुन् । तर कुलमानसँग भेट सकिएपछि पछिल्लो दुई घण्टायता ज्वागलमा बालेन र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता चलिरहेको छ ।

वार्ता चलिरहँदा कलाकार, नेतादेखि जेन–जी अगुवाको भिड ज्वागलमा बढेको छ । हामी नेपालका सुधन गुरुङ, विघटित प्रतिनिधिसभाका स्वतन्त्र सांसद अमरेशकुमार सिंह, निर्देशक विशाल भण्डारीसहित कलाकार पनि ज्वागल पुगेका छन् । भित्र वार्ता चलिरहँदा गुरुङ बालेन र रविबीच सम्झौता नभएसम्म बाहिर जान दिँदैनौँ भन्दै तालाबन्दी गरेका छन् । त्यसअघि विघटित प्रतिनिधिसभामा कांग्रेसबाट सांसद बनेका सुनिल शर्मा बालेनलाई भेटेर फर्किएका छन् ।

बालेनले वार्ता गरिरहँदा कलाकार अर्जुन घिमिरेले ‘झरीपछिको इन्द्रेणी’ ब्यानर राखेर प्रचार गरिरहेका छन् । गएराति नै बालेनले ज्वागलमै जनमतका सीके राउत, रेशम चौधरी, राप्रपाका ज्ञानेन्द्र शाही, पूर्व प्रशासक भीम उपाध्याय, पत्रकार ऋषि धमला, सागर ढकाल, भगवान कोइराला, निश्चल बस्नेत, सरोज गौतम र असिम शाहसहितका नेतालाई भेटेका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *