प्रतिनिधि सभा चुनावको समानुपातिक प्रणालीतर्फका उम्मेदवारको बन्द सूची बुझाउने समय सोमबार सकिने

Thankot Times

थानकोट ।

फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा चुनावका लागि समानुपातिक प्रणालीतर्फका उम्मेदवारको बन्द सूची पेश गर्ने समय भोलि र पर्सि रहेको छ । निर्वाचन आयोगले समानुपातिक प्रणालीतर्फ भाग लिन दर्ता भएका सबै राजनीतिक दलहरूलाई रीतपूर्वक उम्मेदवारको बन्दसूची तयार गर्न अनुरोध गर्दै बनदसूची पेश गर्ने समयसीमा पनि सम्झाएको छ ।

आयोगले सूचना निकालेर विधि, प्रक्रिया र आवश्यक प्रमाण कागजात पूरा गरी उम्मेदवारको बन्दसूची तयार गर्न अनुरोध गरेको हो । आयोगका अनुसार तयार गरेको बन्दसूची तोकिएको समयभित्र निर्वाचन अधिकृतको कार्यालयमा पेश गर्नुपर्ने छ ।

समानुपातिक तर्फको चुनावी प्रक्रियाका लागि आयोगले केन्द्रीय कार्यालय परिसरमै निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले निकाल्नुभएको विज्ञप्तिमा चुनावसम्बन्धी कानूनी व्यवस्था र तोकिएको समय सीमाको पालना गर्न सबै सम्बन्धित पक्षलाई अनुरोध गरिएको छ ।

समानुपातिक तर्फका उम्मेदवारको बन्दसुची पेश गर्ने समय नजिक आइसक्दा पनि ठूला दलहरु भने चुनाव हुने नहुने विवादमा धेरै अल्झिएका छन् । मुख्य दलहरुले नै चुनावको वातावरण नबनेको बताइरहेपछि आज प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरुबीच छलफल गर्दै हुनुुहन्छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा हुने संवादमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) सहभागी हुने सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिनुभयो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *