नेपाल प्रज्ञा प्रतिष्ठानमा पुस्तक प्रदर्शनी सुरु
थानकोट ।
नेपाल प्रज्ञा प्रतिष्ठानको भानुभक्त कक्षमा पुस्तक प्रदर्शनी सुरु भएको छ ।
प्रतिष्ठानका कुलपति भूपाल राईले उद्घाटन गरेर थालनी भएको उक्त पुस्तक प्रदर्शनीमा नयाँपुराना पुस्तक राखिएका छन् ।
प्रदर्शनीमा १५ प्रतिशतदेखि ४० प्रतिशतसम्म छुट दिइएको छ ।
प्रदर्शनीमा अमरकोश, नेपाली साहित्यकोश, कौटिल्यको अर्थशास्त्र, जाँ ज्याक रुसको कन्फेसन्स, ईषादि नौ उपनिषद्, ग्रिक महाकवि होमरको ओडिसी, हरेराम जोशीको प्राचीन अभिलेख, गुमानसिंह चाम्लिङको एरिस्टोटल र उनका काव्य शास्त्र ‘पेरी पोइएतिकेस’लगायत पुस्तक राखिएका छन् ।
त्यस्तै पुरानादेखि नयाँसम्मका नेपाली भाषा, साहित्य, संस्कृति, कला, इतिहास, दर्शनशास्त्र र समाजशास्त्रलगायत महत्वपूर्ण पुस्तकहरू पनि राखिएको प्रतिष्ठानले जनाएको छ ।
पुस्तक प्रदर्शनी पुस २६ गतेसम्म चल्ने जानकारी दिइएको छ ।
















