नेपाली कम्युनिस्ट पार्टीले सोमबार समानुपातिकको बन्दसूची बुझाउने
थानकोट ।
नेपाली कम्युनिस्ट पार्टीले समानुपातिकतर्फको बन्दसूची सोमबार (पुष १४ गते) बुझाउने तयारी गरेको छ ।
जिल्लाबाट आएका उमेदवारको सिफारिसलाई प्रदेशले निर्णय गरेर केन्द्रमा पठाएको नेता देव गुरुङले जानकारी दिए । उनले बाह्रखरीसित भने, “प्रदेशबाट आइसकेको छ । अब हामी त्यसैलाई जोडेर भोलिसम्म आयोगमा बुझाउँछौँ ।”
नेकपाले एउटा जिल्लाबाट एकजना महिला अनिवार्य हुने गरी सूची पठाउन सर्कुलर जारी गरेको थियो । समानुपातिक तर्फ ११० जनाका लागि आकांक्षी धेरै भएकाले नयाँलाई अथवा मौका नपाएका उमेदवारलाई यस पटक समेट्ने नेता गुरुङले बताए ।
यसैबीच बागमती प्रदेशको समानुपातिक बन्दसूची संकलन कार्यमा लागेका इन्चार्ज गंगालाल तुलाधरले झण्डै सबै सूची आइसकेकाले भोलि ‘फर्स्ट आवर’मा आयोग पुगेर सूची बुझाउने तयारी रहेको बताए ।
उनले बाह्रखरीसित भने, “हामीले बागमतीको जिम्मा लिएका छौँ । सबै जिल्लाको जिम्मा लिने साथीहरूले पनि काम गरिरहनुभएको छ । सबे आजै बेलुका नत्र भोलि बिहान फर्स्ट आवरमा हामी सूची बुझाउने तयारीमा छौँ ।”
तुलाधरका अनुसार बागमतीमा १९८ जनाले समानुपातिक उमेदवारका लागि आवेदन दर्ता गराएका छन् ।














