आयोगमा आज बयान दिँदै तत्कालीन गृहमन्त्री रमेश लेखक
थानकोट ।
तत्कालीन गृह मन्त्री रमेश लेखकले भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगसमक्ष आज (पुस १४) बयान दिने भएका छन् । यस दिन मध्याह्न १२ बजे उनी आयोगमा उपस्थित हुने लेखकको सचिवालयले जनाएको छ ।
लेखकले आजै दिउँसो २ बजे नेपाली कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा सञ्चारमाध्यममार्फत आफ्नो धारणा सार्वजनिक गर्ने पनि जनाइएको छ ।
लेखकलाई यही पुस ८ गते बयानका निम्ति आयोगले पत्राचार गरेको थियो ।
आयोगले उक्त समयमा पदमा बहाल सरोकारवाला सरकारी अधिकारीहरूसित यसअघि नै बयान लिइसकेको छ । बयान लिन तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र लेखक मात्र बाँकी हुन् । बयानका निम्ति ओलीलाई पत्राचार गरिएको छैन ।
गएको भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनपछि गठित अन्तरिम सरकारले त्यसक्रममा भएको मानवीय तथा भौतिक क्षतिको छानबिन गर्न आयोग बनाएको हो ।
उक्त दुई दिनका घटनामा ७६ जनाको मृत्यु भएको थियो । धेरैजना अझै घाइते छन् ।














