चन्द्रागिरि नगरपालिका ‘बालश्रममुक्त स्थानीय तह’ घोषित
थानकोट ।
चन्द्रागिरि नगरपालिका ‘बालश्रममुक्त स्थानीय तह’ भएको छ ।
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बाँनिया, सामाजिक विकास मन्त्री कञ्चनचन्द्र बादे, उद्योग मन्त्री विन्दु श्रेष्ठ, बागमती प्रदेश सभा सदस्य यमुनादेवी श्रेष्ठ, केशव पोखरेल, चन्द्रागिरि नगरपालिका प्रमुख घनश्याम गिरीले लगायतले सोमबार नगरपालिका कार्यालय हातामा आयोजित विशेष कार्यक्रममा नगरपालिकालाई ‘बालश्रममुक्त स्थानीय तह’ घोषणा गरेका हुन्।
यस अगाडि सोमबार नै चन्द्रागिरि–१२ बलम्बूलाई ‘बालश्रममुक्त वडा’ घोषणा गरिएको थियो ।
‘बालबालिकालाई श्रममा प्रयोग नगरौँ, बालश्रममुक्त समाजको निर्माण गरौँ’ भन्ने नारासहित विसं २०७९ असार २ गते वडा नं १४ लाई पहिलो ‘बालश्रममुक्त वडा’ घोषणा गरिएको थियो।
सो अवसरमा बाजागाजासहित नगरपरिक्रमासमेत गरिएको थियो।
विसं २०८० असोज ४ मा वडा नं ३, सोही वर्षको फागुन २७ गते वडा नं ८, चैत २१ गते वडा नं ६, चैत २३ गते वडा नं ७, चैत ३० गते वडा नं ५, विसं २०८१ भदौ २९ मा वडा ११, सोही वर्षको असोज ५ मा वडा १०, माघ १० गते वडा ९ र माघ २५ मा वडा २, फागुन १८ वडा ४, विसं २०८२ जेठ ३० मा वडा १५, सोही वर्षको भदौ १३ गते वडा १३, भदौ १५ मा वडा १ लाई ‘बालश्रममुक्त वडा’ घोषणा गरिएको हो।
चालु आर्थिक वर्षभित्र सबै वडालाई ‘बालश्रममुक्त वडा’ घोषणा गरिसक्ने नगरपालिकाको लक्ष्य रहेको थियो। लक्ष्य अगावै सो कार्य पूरा भएको जनाइएको छ। सो अवसरमा नगर प्रमुख गिरीले भने, ‘बालश्रममुक्त स्थानीय तह घोषणापछि यसको दिगोपनमा काम जारी राखिने छ। यस कार्यमा साथ र सहयोग गर्ने सबैमा धन्यवाद दिन चाहन्छु।’
‘बालश्रम निवारणसम्बन्धी राष्ट्रिय गुरुयोजना (२०७५-२०८५), ‘बालश्रममुक्त स्थानीय तह घोषणा कार्यविधि २०७७’, बालश्रम (निषेध तथा नियमन गर्ने) ऐन २०५६ तथा स्थानीय सरकार सञ्चालन ऐन २०७४ तथा ‘बालश्रम निवारणसम्बन्धी चन्द्रागिरि नगरपालिकाको कार्ययोजना २०७६’ को लक्ष्यअनुसार बालश्रम निवारणको काम गरिएका थिए। चन्द्रागिरि- १५ का वडाध्यक्ष एवं सामाजिक विकास समितिका संयोजक घनश्याम लुइँटेलले बालमैत्री नगर घोषणाका लागि प्रारम्भिक चरणमा विभिन्न सूचक पूरा गरी वडालाई बालश्रममुक्त बनाउँदै लगिएको जानकारी दिए।
महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण शाखा प्रमुख रश्मी श्रेष्ठले नगर कार्यपालिका, सरकारी कार्यालय, विद्यालय, बालक्लब, विभिन्न समिति, सङ्घ संस्था, उद्योग व्यवसाय क्षेत्रको अथक योगदान र सहयोगका कारण नगरपालिकालाई बालश्रममुक्त घोषणा भएको जानकारी दिइन्।
यसअघि देशभरका छ स्थानीय तहमात्रै ‘बालश्रममुक्त घोषणा’ भएका बताइएको छ। महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण शाखाका अधिकृत विष्णुकुमारी बाँस्कोटाले नगरपालिकाले बालश्रम निवारणसम्बन्धी कार्ययोजना बनाई बालश्रममुक्त नगर तथा वडा निर्माणका लागि विविध कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिएन् ।
















