६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्द सूची
थानकोट ।
आगामी २१ फागुनका लागि तोकिएको प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि विभिन्न राजनीतिक दलहरूले समानुपातिकतर्फको बन्द सूची आयोगमा पेस गरिसकेका छन् ।
निर्वाचन आयोगका अनुसार बन्द सूची पेस गर्ने ६४ वटा राजनीतिक दलमध्ये ५४ वटा दलले आफ्नो निर्वाचन चिह्नमा र १० वटा राजनीतिक दलले चारवटा एकल चुनाव चिह्नमा निर्वाचनमा भाग लिने गरी बन्द सूची पेस गरेका छन् ।
नेपालको संविधानअनुसार प्रत्यक्ष निर्वाचन प्रणालीबाट १६५ जना र समानुपातिकतर्फ ११० जना निर्वाचन हुने व्यवस्था छ ।
त्यसैगरी निर्वाचन आयोगले आगामी ११ माघका लागि तोकिएको राष्ट्रियसभा सदस्यको निर्वाचनका उम्मेदवारले पेस गर्नुपर्ने कागजपत्रको सूची उपलब्ध गराएको छ ।
आयोगका अनुसार उम्मेदवारले नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी, मतदाता नामावली ऐन, २०७३ बमोजिम कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सा पेस गर्नुपर्नेछ ।
साथै, १० हजार रुपैयाँ धरौटी जम्मा गरेको रसिद वा भौचर, महिला, दलित वा अल्पसंख्यक समुदाय वा आर्थिक रूपले विपन्न उम्मेदवारको हकमा सो धरौटी रकममा ५० प्रतिशत छुट हुनेछ । आर्थिक रूपमा विपन्नका हकमा भने स्थानीय तहको सिफारिसपत्र हुनुपर्नेछ । साथै, मतदाता नम्बर, उम्मेदवारको सम्पत्ति विवरण, घर संख्या, घर रहेको स्थान, जग्गाको विवरण, संघीय कानुनबमोजिम अयोग्य नभएको भनी गरेको स्व:घोषणापत्र पनि उम्मेदवारले पेस गर्नुपर्नेछ ।
कुनै लाभको पदमा नभएको भनी गरेको स्व:घोषणा, कुनै जिम्मेवारी वा निर्वाचित पदमा रहेको भए राजीनामा दिएको दर्ताको निस्सा, कुनै अयोग्यता नभएको घोषणापत्र, उम्मेदवार आफैँ वा निजको प्रतिनिधि, प्रस्तावक वा समर्थकबाट सही छाप गरिएको उम्मेदवारको मनोनयनपत्र पनि पेस गर्नुपर्नेछ ।
यस्तै, २०७९ सालको प्रदेशसभा सदस्यतर्फ समानुपातिक निर्वाचन प्रणालीतर्फको उम्मेदवारको बन्द सूचीमा रहेको भए फिर्ता लिएको कागजात पनि पेस गर्नुपर्नेछ । प्रस्तावक र समर्थकको नाम सम्बन्धित प्रदेशसभा सदस्य वा सम्बन्धित प्रदेशभित्रको गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्ष, नगरपालिकाको प्रमुख वा उपप्रमुख समावेश भएको निर्वाचक मण्डलको मतदाता नामावलीमा नाम भएको व्यहोरा खुल्ने कागजात पेस गर्नुपर्ने आयोगले जनाएको छ ।
आयोगले निर्वाचनको तयारीस्वरूप सातवटै प्रदेशमा निर्वाचन अधिकृत तोकिसकेको छ भने निर्वाचन कार्यालय पनि खोलिसकेको छ । राजनीतिक दलहरूले पनि उम्मेदवार छनोटका लागि प्रारम्भिक तयारी गरिरहेका छन् ।














