‘नयाँ वर्ष २०८३ का दिन चन्द्रागिरिबासीलाई आकाशे पुल उपहार’- मेयर घनश्याम गिरी
थानकोट ।
कलंकी-नागढुङ्गा सडक खण्डको नैकाप चोकमा आकाशेपुल बन्ने भएको छ ।
बुधबार बिहान चन्द्रागिरि नगरपालिका प्रमुख घनश्याम गिरीले सो आकाशेपुल शिलान्यास गरेसँगै निकट भविष्यमा नै स्थानीयमा सहज रुपमा सडक पार गर्न विकल्प मिल्ने भएको हो ।
सो पुल यही वर्ष बनाइसकिने नगरप्रमुख गिरीको भनाइ छ ।
मुख्य राजमार्ग अन्तर्गत नैकाप, सतुङ्गल, गुर्जुधारा, थानकोट, नागढुङ्गा लगायतका चोकमा चन्द्रागिरि नगरपालिकाले आकाशेपुल बनाउने लक्ष्य लिएको मेयर गिरीको भनाइ छ ।
उनका अनुसार यस क्षेत्रमा नगरपालिकाले निकट भविष्यमानै ट्राफिक बत्ती जडान गरि पैदल यात्रु तथा सवारीसाधनको सञ्चालनमा सहजता ल्याउन प्रयास हुनेछ । नयाँ वर्षमा चन्द्रागिरि बासीले आकाशेपुल उपहार पाउने भयाैं, हामी सबैलाई बधाई छ, मेयर गिरीले भने ।
करिब २५ मिटर लम्बाइको सो फलामे पुलको लागत भ्याट सहित १ करोड ९९ लाख ३८ हजार ९ सय ५९ रुपैयाँ रहेको छ ।
पुल निर्माणको म्याद भने २०८३ जेठ मसान्तसम्म तोकिएपनि निर्माण कर्ता कम्पनी निरिसा कन्स्ट्रक्सनले पुल चैत्र मसान्तभित्रै निर्माण सम्पन्न गरिसक्ने जनाएको छ ।
यो पुल निर्माण भइसकेपछि चन्द्रागिरि नगर क्षेत्रकै पहिलो आकाशेपुल हुनेछ ।
सडकको मापदण्ड अनुसार (११-११ मिटर) यो पुलको डिजाइन भएको चन्द्रागिरि नगरका प्राविधिकको भनाइ छ ।
















