नवौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपः महिलातर्फ न्यु डायमण्ड च्याम्पियन
थानकोट ।
नवौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फको उपाधि न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबले जितेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शनिबार सम्पन्न फाइनल खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ३-० को साेझाे सेटमा हराउँदै न्यु डायमण्डले उपाधि रक्षा गरेको हो।
डायमण्डले पुलिसलाई क्रमशः २५-१८, २५-१९ र २५-१८ को सहज सेटमा हरायो। यसअघि विभागीय टोली नेपाल पुलिस र नेपाल एपीएफ क्लब च्याम्पियनसिपमा तेस्रो भएका थिए।
शनिबारै भएको स्पर्धामा रुकुम पश्चिम ट्रेनिङ सेन्टरलाई ३-२ को सेटमा हराउँदै पुलिस पुरुषतर्फ तेस्रो बनेको हो।
पाँचौं सेटसम्म चलेको खेलमा पछिल्ला तीन सेट पुलिसले क्रमशः २६-२५, २५-२२ र १५-१० ले आफ्नो पक्षमा पार्यो।
यस्तै, शनिबार बिहान भएको महिलातर्फको खेल अर्थात् विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लबलाई ३-० को साेझाे सेटमा एपीएफ तेस्रो भएको हो।
पुलिसले आर्मीलाई २५-१३, २५-१७ र २५-१० को सहज सेटमा हराएको थियो। अब, पुरुषतर्फको फाइनलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब र साविक विजेता हेल्प नेपाल स्पोर्ट्स क्लब भिड्दैछन्।
यस पटकको च्याम्पियनसिपमा पुरुषतर्फ १२ र महिलातर्फ ८ गरि कुल २० टोली सहभागी थिए। च्याम्पियनसिपबाट उत्कृष्ट ८ पुरुष र ६ महिला टोली छनोट हुँदैछन्। ती टोलीले दशौं पीएम कप- एनभीए महिला तथा पुरुष भलिबल लिगमा सहभागीता जनाउने छन्।
प्रतियोगितामा महिला तथा पुरुष दुवैतर्फको विजेता टोलीले ट्रफीसहित समान नगद ५ लाख रुपैयाँ, उपविजेताले २ लाख ५० हजार रुपैयाँ र तेस्रो हुने टोलीले १ लाख २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। त्यसैगरी, उत्कृष्ट महिला तथा पुरुष खेलाडीलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिनेछ।
विधागततर्फ उत्कृष्ट महिला तथा पुरुष खेलाडीलाई जनही १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजक नेपाल भलिबल संघ (एनभीए) ले जनाएको छ।















