फागुन २१ को चुनावः एमालेमा धादिङ क्षेत्र नं. १ बाट ७ र क्षेत्र नं. २ बाट ८ जना सिफारिस
थानकोट ।
नेकपा (एमाले) ले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि धादिङ प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ बाट आठ जना आकांक्षी उम्मेदवारको नाम सिफारिस गरेको छ ।
एमाले क्षेत्रीय समन्वय कमिटीको बैठकले पार्टीका केन्द्रीय सदस्य खेमप्रसाद लोहनी, धनबहादुर घले, डा. रामकुमार अधिकारी, शम्भुकुमार थापा, उमेशकुमार थापा, अर्जुनकुमार श्रेष्ठ ‘गोर्खाली’, कृष्णकुमारी थापा श्रेष्ठ र चन्द्र रिजालको नाम उम्मेदवारका रूपमा सिफारिस गरेको हो ।
पार्टीले केन्द्रबाट उम्मेदवार चयन गर्ने प्रक्रिया अघि बढाइरहेका बेला धादिङ क्षेत्र नम्बर २ बाट आठ जनाको नाम सिफारिस गरिएको एमालेले जनाएको छ ।
धादिङ प्रतिनिधि सभा क्षेत्र नम्बर १ बाट सात जना आकांक्षी उम्मेदवारको नाम सिफारिस भएका छन् । सो पार्टीको क्षेत्रीय समन्वय कमिटीको दोस्रो पूर्ण बैठकले दीपक खतिवडा, जगन्नाथ नेपाल, गजेन्द्र थपलिया, मिनराज कडेल, कपिल अधिकारी, भूमि त्रिपाठी र कमला शर्माको नाम सिफारिस गरेको हो।
सिफारिस भएका उम्मेदवारमध्ये भूमि त्रिपाठी २०७९ सालको निर्वाचनमा नेकपा एकीकृत समाजवादीका राजेन्द्र पाण्डेसँग ७ हजार ९८१ मतान्तरले पराजित भएका थिए।
एन्फाका केन्द्रीय उपाध्यक्ष समेत रहेका दीपक खतिवडा युवामाझ लोकप्रिय नेताका रूपमा परिचित छन् भने मिनराज कडेल र जगन्नाथ नेपाल एमाले धादिङका संस्थापक नेताका रूपमा चिनिन्छन्।














