केपी ओलीको स्थानहद फुकुवा
थानकोट ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको स्थानहद फुकुवा भएको छ ।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका बेला प्रधानमन्त्री रहेका ओलीलाई जाँचबुझ आयोगले स्थानहद लगाएको थियो ।

सोमबार (पुस २१) ओलीको स्थानहद फुकुवाको निर्णय भएको आयोगका प्रवक्ता विज्ञानराज शर्माले जानकारी दिए ।
“स्थानहद फुकुवा गर्ने निर्णय भएको छ,” उनले भने ।
आयोगले आइतबार ओलीको स्टेटमेन्ट लिएको थियो । एक अधिकारीका अनुसार ओलीले आइतबार दिएको लिखित ‘स्टेटमेन्ट’पछि स्थानहद फुकुवा गरिएको हो ।
भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनका बारेमा छानबिन गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा आयोग बनेको थियो ।
आयोगले तत्कालीन प्रधानमन्त्री ओली, तत्कालीन गृहमन्त्री रमेश लेखकसहित त्यसबेला सुरक्षा निकायको नेतृत्वमा रहेकाहरुसँग पनि बयान लिएको छ ।
आयोग अब प्रतिवेदन लेखनमा लाग्ने जनाइएको छ ।














