पुस २३ का लागि डाकिएको चन्द्रागिरि हिल्सको साधारण सभास्थल परिवर्तन

Thankot Times

थानकोट ।

चन्द्रागिरि केबलकारको प्रवर्द्धक कम्पनी चन्द्रागिरि हिल्स लिमिटेडले यही पुस २३ गते बोलाएको साधारणसभा हुने स्थान परिवर्तन गरेको छ ।

यसअघि बटम स्टेशन परिसर, थानकोट, काठमाडौँमा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको कम्पनीले त्यसको सट्टा टप स्टेशनमा रहेको फोर-डी हलमा सभा गर्ने निर्णय गरेको हो ।

कम्पनीले ५ प्रतिशत बोनस शेयर र शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्तावसहित वार्षिक साधारणसभा बोलाएको छ । सभाले गत आर्थिक वर्ष ०८१/८२ को वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।

गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा ५ प्रतिशत बोनस शेयर वितरणको प्रस्ताव पारित गर्दै बोनसपछि कायम चुक्तापूँजी आधारमा शतप्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्ताव पनि सभाले पारित गर्नेछ ।

कम्पनीको प्रबन्धपत्र संशोधन प्रस्ताव गरेको कम्पनीले त्यसका लागि सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिनेछ ।

प्रभु बैंकबाट नयाँ परियोजना निर्माणका लागि लिइएको कर्जा अनुमोदनको प्रस्ताव पनि सभाका लागि तय भएको छ ।

सभा प्रयोजनका लागि कम्पनीले पुस ११ गते बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा पुस १० गते सार्वजनिक बिदा परेकाले पुस ९ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य भएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ