वीरगन्जमा कर्फ्यू थपियो
थानकोट ।
धनुषामा मस्जिदमा तोडफोड गरिएको घटनाको विषयलाई लिएर अशान्त बनेको वीरगन्जमा फेरि कर्फ्यू थपिएको छ।
वीरगन्जमा मंगलबार बिहान ८ बजेदेखि दिउँसो १ बजेसमका लागि कर्फ्यू आदेशको समय थप गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिए।
यसअघि सोमबार साँझ ६ बजेदेखि मंगलबार बिहान ८ बजेसम्मका लागि कर्फ्यू लगाइएको थियो। त्यसअघि सोमबार दिउँसो १ बजेदेखि भने निषेधाज्ञा आदेश जारी गरिएको थियो।
पछिल्लो सुरक्षा अवस्थालाई मध्यनजर गरी मंगलबार दिउँसो १ बजेसम्मका लागि कर्फ्यू आदेश थप गरिएको प्रजिअ दाहालले जानकारी दिए।
दुई फरक समुदायले प्रदर्शन गर्दै आएका कारण पर्साको वीरगन्ज आइतबारदेखि नै अशान्त छ। धनुषाको कमलमा–६सखुवा मराडस्थित मुस्लिम टोलमा रहेको मस्जिदमा गत शनिबार तोडफोड र मुस्लिम धर्मावलम्बीको ग्रन्थ कुरान जलाइएको घटना सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको थियो। त्यहि विषयलाई वीरगन्जमा पनि आइतबारदेखि दुई फरक समुदायले प्रदर्शन गर्दै आएका छन्।
मस्जिद तोडफोडको विरोधमा आइतबार बिहान वीरगन्जमा मुस्लिम समुदायले विभिन्न स्थानमा टायर बालेर प्रदर्शन गरेका थिए। मस्जिद तोडफोडमा संलग्नहरुलाई कानूनी कारबाही गर्नुपर्ने माग उनीहरूको थियो।
आइतबार बिहान मुस्लिम समुदायको प्रदर्शनपछि साँझ हिन्दु समुदायका युवाहरुले पनि मोटरसाइकल जुलुश निकालेर प्रदर्शन गरेका थिए। सामाजिक सञ्जालमा हिन्दू धर्मप्रति आपत्तिजनक टिप्पणी दिनेहरूलाई कारबाही हुनुपर्ने माग उनीहरूको थियो।
सोमबार बिहान फेरि हिन्दू समुदायका युवाहरुले वीरगन्जमा नाराबाजी गर्दै प्रदर्शन गर्न थालेपछि वीरगन्ज–३ छपकैया क्षेत्रमा मुस्लिम समुदायका युवाहरूपनि भेला भएर नाराबाजी गरेका थिए। त्यसपछि स्थिति तनावपूर्ण बन्दै जाँदा जिल्ला प्रशासन कार्यालयले वीरगन्ज महानगरको शहरी क्षेत्रमा सोमबार दिउँसो १ बजेदेखि निषेधाज्ञा लगाएको थियो। दिउँसो १ बजेदेखि निषेधाज्ञा लगाइएको खबर सार्वजनिक भएलगत्तै माईस्थान मन्दिर क्षेत्रमा भेला भएका हिन्दु समुदायका युवाहरु पुन नाराबाजी गर्दै सडकमा निस्किएका थिए।
आदर्शनगर हुँदै विर्तातर्फ अगाडि बढेका उनीहरू मकालु होटल चोकमा पुग्दा प्रहरीले रोक्न खोज्दा दुवैपक्षबीच झडप भएको थियो। प्रहरीले लाठी चार्ज गर्दै तितरबितर पार्न खोज्दा प्रदर्शनकारीले ढुंगा प्रहार गर्न थालेका थिए। त्यसपछि प्रहरीले थप लाठीचार्ज गर्नुका साथै अश्रु ग्यासपनि प्रहार गरेको थियो। जसका कारण अवस्था झन् तनावग्रस्त बनेको थियो।
त्यसपछि प्रदर्शनकारीहरुको एक समूह वीरगन्जको लाठगल्ली क्षेत्रमा प्रवेश गर्न खोज्दा प्रहरीले रोकेको थियो। त्यसक्रममा पनि प्रहरीसँग केहिबेर झडप भयो। सोमबार साँझ भने मुर्ली चोकमा फरक समुदायका दुई युवकलाई एक समुहले कुटपिट गर्न थालेपछि प्रहरीले त्यहाँपनि लाठी चार्ज गर्दै पूर्ववडाध्यक्ष तुफान अन्सारीसहित तीन जनालाई नियन्त्रणमा लिएको थियो।
यस्तै सोमबार दिउँसो आदर्शनगर क्षेत्रमा भएको प्रदर्शनको समाचार संकलन गर्न पुगेका पत्रकार श्रवण साहमाथि हातपात गर्नुका साथै उनको मोबाइल सेट खोसेर गायब पारिएको छ। प्रदर्शनको भिडियो खिच्ने क्रममा साहमाथि प्रदर्शनकारीहरूले हातपात गर्नुका साथै उनको मोबाइल खोसेका थिए। उक्त मोबाइल अहिलेसम्म पनि आफूले फिर्ता नपाएको पत्रकार साहले बताए।
यसअघि वीरगन्जमा सोमबार जारी गरिएको निषेधाज्ञा उल्लंघन गरेर प्रदर्शन गर्ने २६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
















