किमाथांका अरूण जलविद्युत आयोजना स्वदेशी पुँजीमा निर्माण गर्ने गरी लगानी मोडालिटी तयार

Thankot Times

थानकोट ।

संखुवासभाको भोटकोला गाउँपालिका-२ मा पहिचान गरिएको ४५४ मेगावाटको किमाथांका अरूण अर्धजलाशययुक्त जलविद्युत आयोजना स्वदेशी पुँजीमा निर्माण गर्ने गरी लगानी ढाँचा-मोडालिटी तयार भएको छ।

निर्माण अवधिको ब्याजसहित ९७ अर्ब ९४ करोड रूपैयाँ अनुमानित लागत रहेको आयोजना सरकार र सरकारी निकायहरू संस्थापक रहेको विद्युत उत्पादन कम्पनील आफैंले गर्नेछ।

आयोजनाको कुल लागतमध्ये ७० प्रतिशत अर्थात ६८ करोड ५५ लाख ऋणबाट र ३० प्रतिशत अर्थात २९ अर्ब ३८ स्वःपुँजी (इक्विटी)बाट जुटाउने गरी वित्तीय व्यवस्थापनको मोडालिटी तयार गरिएको छ।

हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी एचआइडिसिएल,कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष, बीमा कम्पनीहरू र बैंक तथा वित्तीय संस्थाको सह-वित्तीयकरण मार्फत ऋण लिने प्रस्ताव गरिएको छ।

इक्विटीबाट प्राप्त हुने रकम कम्पनीका संस्थापक र गैह्रआवासीय तथा वैदेशिक रोजगारीमा रहेका नेपाली, आयोजना प्रभावित जिल्लाका स्थानीय बासिन्दा,अतिविपन्न परिवारका सदस्य र सर्वसाधारणलाई सेयर निष्कासन गरी संकलन गरिनेछ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले आयोजनाको अनुमानित लागतलाई अद्यावधिक गरी सोही बमोजिम तत्काल वित्तीय व्यवस्थापनको प्रक्रिया अगाडि बढाउन निर्देशन दिएका छन्।

घिसिङले कम्पनीको दीर्घकालिन आम्दानी तथा दिगोपनका लागि पनि किमाथांका आयोजना आफैंले बनाउनु पर्ने बताए।

आयोजनाको प्रस्तावित लगानी ढाँचा र त्यस बमोजिम कम्पनीको संस्थागत इक्विटी योजनालाई तत्काल कम्पनी सञ्चालक समितिबाट पारित गरी पेस गर्न निर्देशन समेत दिए।

किमाथांका अरूणको अध्ययन तथा पूर्वनिर्माण खर्च ७३ करोड १४ लाख रूपैयाँ भएको उल्लेख गरिएको छ।

आयोजनाको कार्यालय तथा कर्मचारी आवास (क्याम्प) निर्माणका लागि जग्गा अधिग्रहण भइसकेको छ।

बाँध, जलाशय, विद्युतगृह लगायत संरचना निर्माणका लागि आवश्यक पर्ने जग्गा अधिग्रहणका लागि मुआब्जा तथा क्षतिपूर्ति निर्धारण भइसकेको छ। यसका लागि करिब ४५ करोड रूपैयाँ लाग्नेछ।

आयोजनाबाट वार्षिक दुई अर्ब ६९ करोड युनिट (२६९०.९७ गिगावाट आवर) विद्युत उत्पादन हुनेछ।

यसमध्ये हिउँदयामको पिक तथा अफ पिक ऊर्जा क्रमश: ४७ करोड ३१ लाख तथा ३५ करोड ३३ लाख र वर्षायामको एक अर्ब ८६ करोड ४६ लाख युनिट रहेको छ।

उक्त विद्युत बिक्रीबाट वार्षिक रूपमा १६ अर्ब ९१ करोड रूपैयाँ आम्दानी हुनेछ।

विद्युत उत्पादन कम्पनीमा सरकारको ३० प्रतिशत, नेपाल विद्युत प्राधिकरण, कर्मचारी सञ्चय कोष तथा नेपाल टेलिकमको १०/१०, नागरिक लगानी कोषको ५, एचआइडिसिएल ४, राष्ट्रिय जीवन बीमा कम्पनीको २ प्रतिशत संस्थापक सेयर स्वामित्व छ।

सर्वसाधारणका लागि २९ प्रतिशत सेयर छुट्याइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ